coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

नेकपा एमाले दसाैँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्।

अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए पनि खुलेर कोही बोलेका छैनन्। महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न सकेका छैनन्।

हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको देखिन्न। यस अर्थमा एमाले–माओवादी एकीकरणपछि बनेको तत्कालीन नेकपामा महासचिव पद सम्हालेका पौडेल अहिले एमाले महासचिवका एक मात्र हकदार देखिएका छन्।

अन्य नेताहरूले पनि भित्रभित्रै महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेकाले पौडेलले सो पद सजिलै पाउने अवस्था देखिन्न। महासचिवका लागि औपचारिक रूपमा पौडेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छैनन्। ‘अहिले नै यही पद नभनौं, साथीहरूसँग छलफल भइरहेको छ,’ पौडेलले भने। दसौं महाधिवेशनमा एमालेभित्र र बाहिर दुवैतिर उपमहासचिव पौडेललाई महासचिवको बलियो दाबेदारका रूपमा हेरिए पनि अन्य दाबेदारको चर्चा पनि उत्तिकै बढेको छ।

पौडेल सांगठनिक क्षमतामा अब्बल र पार्टी नेतृत्वदेखि कार्यकर्तासम्मलाई छिट्टै प्रभावमा पार्न सक्ने नेताका रूपमा परिचित छन्। उनी सबैलाई मिलाएर लान र अरूलाई सजिलै सहमतिमा ल्याउन सक्ने तथा नेताहरूसँग सुमधुर सम्बन्ध गाँस्न सक्ने नेता मानिन्छन्।विगतदेखि नै महासचिवको काम गरिरहेका र संगठन विभाग प्रमुखसमेत भएकाले उनका लागि अहिलेको महाधिवेशन सहज हुने एमाले वृत्तमा चर्चा छ।

महासचिवका लागि स्थायी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङले पनि रुचि देखाएका छन्। तर उनीहरू पनि खुलेका छैनन्। पाण्डेले महासचिवभन्दा तल बसेर काम गर्न असजिलो होला भन्ने आशय व्यक्त गरिरहेका छन्। ‘अघिल्लो महाधिवेशनमा महासचिवको उम्मेदवार भएको र थोरै मतले पराजित भएको यहाँहरूलाई थाहै छ,’ उनले भने,‘महासचिवमा मेरो दाबी रहन्छ।’ पाण्डेले पनि अहिलेसम्म खुलेर उम्मेदवारी घोषणा गरेका छैनन्।

एमाले आन्तरिक द्वन्द्वमा रहेका बेला पनि पाण्डे बलियो जनाधार भएको नेताका रूपमा परिचित थिए। उनलाई तार्किक नेताका रूपमा पनि लिने गरिन्छ। उनी पार्टीका कुशल व्यवस्थापक पनि मानिन्छन्।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित शंकर पोखरेल पनि महासचिवका बलिया आकांक्षी हुन्। पार्टी अध्यक्ष ओलीको मुख्य सहयोगी मानिएका पोखरेलले आफू महासचिव हुन चाहिरहेको निकटका नेताहरूलाई बताइसकेका छन्।

तर उनले पनि खुलेर यो विषयमा कहींकतै बोलेका छैनन्। पौडेल र पोखरेल लुम्बिनी प्रदेशका भएकाले दुवै नेताका कार्यकर्ताले केही समयअघि सामाजिक सञ्जालमा महासचिवको उम्मेदवार भएको भन्दै प्रचार गरेका थिए। त्यो प्रचार अहिले रोकिएको छ। पार्टीभित्र जबजको व्याख्याताका रूपमा पोखरेल परिचित छन्। उनले पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका छन्।

त्यसैगरी पृथ्वी सुब्बा गुरुङले पनि महासचिव दाबी गरेको बताइरहेका छन्। उनले केपी ओलीलाई नै भेटेर महासचिवमा आफ्नो दाबी प्रस्तुत गरिसकेको बताइन्छ। सुब्बा अहिले सचिव छन्। उनले सबैलाई समेटेर लैजानुपर्छ भन्ने आवाज उठाउँदै आएका छन्।

एमालेभित्रका जनजाति नेताहरूले पार्टी छाडेर जाँदा पनि सुब्बाले पार्टीभित्रै बसेर आफ्नो राजनीतिक भविष्य खोजेका थिए। सुब्बाका अतिरिक्त सचिव प्रदीप ज्ञवालीको आकांक्षा पनि महासचिव बन्ने नै रहेको छ। उनले विधान महाधिवेशनको समयमा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरेका थिए। उनले अहिलेको भन्दा माथिल्लो पदमा दाबी रहने बताएका छन्।

महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी सर्वसम्मत निर्वाचित गर्ने तयारी भए पनि भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि सबै पदमा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। माओवादीबाट एमालेमा आएका नेताहरूलाई पनि समेट्नुपर्ने भएकाले सबै पदाधिकारी सर्वसम्मत गर्नुपर्ने बाध्यता शीर्ष नेताहरूलाई छ। अध्यक्ष ओलीले भने पदाधिकारीको विषयमा अहिलेसम्म छलफल गरेका छैनन्। सर्वसम्मत नेतृत्व चयन गर्ने मनशाय व्यक्त गरेको भए पनि आकांक्षी धेरै भएपछि ओली अलमलमा परेको बताइन्छ।

वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ पनि अलमलमा छन्। एमालेको विधानमा एउटै पदमा दुईपटकभन्दा बढी दोहोरिन नपाउने भएपछि हालका महासचिव ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। तर अहिलेका उपाध्यक्षहरूले वरिष्ठ उपाध्यक्षमा दाबी रहेको बताएपछि पोखरेल पनि अप्ठेरोमा परेका छन्।

प्रकाशित: ७ मंसिर २०७८ ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App