८ वैशाख २०८१ शनिबार
राजनीति

खलनायकहरुले चितवनमा महाधिवेशन गर्दैछन् : प्रचण्ड

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फटाहाहरुको ठूलो सेटिङमा संविधान उल्टाउने चेष्टा भएको पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्। संविधान उल्टाउने चेष्टा खलनायक तथा प्रतिगामी शक्तिहरुबाट संविधान च्यात्ने दुस्साहस हुँदा आफूहरुले त्यसका विरुद्ध विद्रोहको झन्डा फेरि उठाएको प्रचण्डको भनाइ छ।  

आफूहरुले हतियार नउठाएको र हतियार उठाउन आवश्यक पनि नभएको बताउँदै नेता प्रचण्डले प्रतिक्रान्तिको विरुद्ध सडकबाट आन्दोलनको आँधीबेहरी उठाउन सडकमा गएको बताएका छन्। आफूहरु सडकमा गएपछि लाखाँै जनता काठमाडौँमा उत्रिएपछि सेटिङ भत्किएको उनको भनाइ छ।

माओवादी पक्षमा देशव्यापी जनलहर देखेर प्रतिक्रियावादीहरु आत्तिएको बताउँदै प्रचण्डले माओवादी आउँदो चुनावमा आफ्नो पार्टी देशमा ०६४ सालको जस्तो एक नम्बरको पार्टी बन्ने निश्चित भएको उद्घोष गरेका छन्।

रौतहटको कटहरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता प्रचण्डले चितवनमा खलनायकहरुले महाधिवेशन गर्न लागेको भन्दै प्रचण्ड र माओवादीलाई सिध्याउन महाधिवेशन गर्न खोजेको आरोप लगाएका छन्। प्रचण्डले भनेका छन्, ‘एउटा सानो पार्टीको महाधिवेशन भइसक्यो र अर्को आफूलाई अहंकारको चरम चुलीमा पुगेको खलनायकहरुले महाधिवेशन गर्दैछन्।’

नेकपा एमालेको आसन्न चितवन महाधिवेशनलाई लक्षित गर्दै माओवादी नेता प्रचण्डले चितवनमा उक्त पार्टी माओवादीलाई माया गर्न होइन माओवादी र प्रचण्डलाई सिध्याउन गएको आरोप लगाएका छन्।  

आमसभालाई सम्बोधन गर्ने क्रममा नाम उल्लेख नगरी नेता प्रचण्डले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहविरुद्ध लक्षित आरोपहरु लगाउन धेरै समय खर्च गरेका छन्। ०६४ देखि निरन्तर माओवादी केन्द्र निर्वाचित हुँदै आएको क्षेत्रमा गएर प्रचण्डले आमसभा गर्दै रौतहटमा माओवादीको लहर आउने अनुमान गरेका छन्।

माओवादी नेता प्रचण्डले रौतहटको गरुडामा गत वर्षदेखि पूर्णतया बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालन गराउन काठमाडौँ पुगेपछि तत्काल पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कार्यक्रममा मन्तव्य व्यक्त गर्ने झन्डै सबै नेताले पूर्वमन्त्री साहको आलोचनामा समय खर्च गरे। प्रदेश २ कै प्रभावशाली नेता साहको विरुद्ध लागिरहने जति जिल्लाका अधिकांश पूर्व माओवादी कार्यकर्तालाई मञ्चमा बसाइएको थियो। हजारौँको संख्यामा मान्छेहरु उतारिएको कार्यक्रम नै जिल्लाको प्रभावशाली नेता प्रभु साहलाई कमजोर देखाउन उनको क्षेत्रमा गरिएको माओवादी नेताहरुले बताएका छन्।

नेता प्रचण्डलाई कार्यक्रम आयोजकहरुले ५१ किलोको माला लगाई स्वागत गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७८ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App