२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाटो बाटोमा बा, बा भनेर कराउनेहरु, अहिले पनि बा बालुवाटारमा छ भन्ठान्छन् : मन्त्री भडेल

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले नेकपा एमालेको पछि नलाग्न नगरकोटबासीलाई अनुरोध गरेका छन्।

मन्त्री भएलगत्तै कमलविनायक नगरकोट सडक निर्माणका लागि पहल गर्ने बताउँदै ४५ दिनभित्र काम सकाउने घोषणा गरेका उनी सोमबार नगरकोट पुगेका उनले सो अनुरोध गरेका हुन्।

नगरकोटमा नगरकोटबासीलाई सम्बोधन गर्दै उनले नेकपा(एमाले)लाई कमाउ सरकारको संज्ञा दिँदै एमाले नेतृत्वको सरकारले नगरकोट सडक निर्माणमा ध्यान नदिँदा जनताले दुःख पाएको बताए। उनले दुई तिहाइको सरकार भएर पनि विकासका लागि काम गर्न नसकेको जनाउँदै एमाले सरकारलाई दुःख मात्र दिएको आरोप लगाए।

उनले नगरकोट सडक निर्माणका लागि आफूले पहलकदमी लिँदा केही एमालेका केही स्थानीयले अवरोध गरेकोमा समेत खबरदारी गरे। ‘निर्माण व्यवसायीले ४५ दिनभित्र सडक बनाउँछु भनेको कुरा यहाँ भन्दा यहाँका भाडाका टट्टुहरुले दिन गन्न थाल्यो, अहिले चिसोमा पीच हुँदैन रे, अनि ४५ दिन कटाउनुपर्ने?,’ उनले भने, ‘बाटो बाटोमा बा, बा भनेर कराउनेहरु, अहिले पनि बा बालुवाटारमा छ भन्ठान्छन्, बा बालुवाटारबाट बालकोट, बालकोटको बार्दली पुगिसके।’

उनले नगरकोट सडकको काम अघि बढेको बताउँदै काँग्रेसले बनाउन लागेको बाटो बनाउन नदिनका लागि सडकमै नौटंकी र नाटक गरेको बताए। आइतबार स्थानीयले सो नगरकोट सडकको अनुगमनमा आएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बीच बाटोमा रोकेर सडक बनाइ दिन ध्यानाकर्षण गरेका थिए।

उनले चार वर्ष केही गर्न नसक्ने एमालेको पछि नलाग्न समेत अनुरोध गरे। मन्त्री भडेलले नगरकोट सडक बनाउन आफू सक्रिय रहने बताउँदै त्यसका लागि गठबन्धन सरकारसँग समेत अनुरोध गर्ने बताए।

प्रकाशित: २९ कार्तिक २०७८ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App