२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा एकता महाधिवेशनः थापा–राणा हराउन धवल–लिङ्देन गठजोड

अबको १५ दिनभित्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन हुँदैछ। तर,यसपटक राप्रपाको नेतृत्व लिन कमल थापा र पशुपतिशमशेर राणालाई त्यति सजिलो हुने छैन।

राप्रपाको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनैपर्छ भन्ने एकसूत्रीय एजेन्डा लिएर यसबेला धवलशमशेर राणा र राजेन्द्र लिङ्देन सशक्त रूपमा आएका छन्। राप्रपा(संयुक्त) र राप्रपाबीचको एकीकरणपछि पहिलोपटक यही मंसिर ११, १२ र १३ गते राप्रपाको एकता महाधिवेशन काठमाडाैँमा हुँदैछ।

अहिलेसम्म पाँच नेता राप्रपाको अध्यक्षका आकांक्षी देखिएका छन्। थापा, राणा, डा.प्रकाशचन्द्र लोहनी, धवलशमशेर र लिङ्देन राप्रपाको अध्यक्षका आकांक्षी हुन्।

राप्रपाको नेतृत्व दोस्रो पुस्तामा ल्याउन धवलशमशेर र लिङ्देनले एउटै टिम बनाउने भएका छन्। दुईमध्ये एकजना मात्रै अध्यक्षको उम्मेदवार हुने सहमति उनीहरूले गरेका छन्। धवल र लिङ्देन एक ठाउँमा आए राप्रपाका युवाहरूको ध्यान उनीहरूतिर जाने र यसबाट पहिलो पुस्ता(थापा, पशुपति र लोहनी) कमजोर हुने आकलन गरिएको छ। ‘हामी दुई (धवल र लिङदेन) मध्ये एकजना मात्र अध्यक्षको उम्मेदवार हुने सहमति गरेका छौं,’धवलशमशेरले भने, ‘अब कमल थापा,पशुपतिशमशेर राणा र डा. लोहनीले अभिभावकीय भूमिका निभाउनुपर्छ। पार्टी चलाउने जिम्मेवारी हामीलाई दिनुपर्छ।’ राप्रपाका सबै कार्यकर्ताको भावना पनि यस्तै रहेको उनले बताए।

राप्रपाका केन्द्रीय सदस्य दिनेश कार्कीले राप्रपाको नेतृत्व लिन यसपटक चारवटा टिम मैदानमा उत्रने सम्भावना रहेको बताए।‘ अध्यक्षका लागि पाँचजना नेता आकांक्षी देखिनुभए पनि चारवटा टिम बन्ने सम्भावना छ,’ कार्कीले भने।

यसपटक महाधिवेशनमा युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। अध्यक्ष थापानिकट एक केन्द्रीय सदस्यका अनुसार फेरि पनि राप्रपाको अध्यक्ष हुने रणनीति थापाले बनाएका छन्। यसपटक आफूलाई सहयोग गर्न राप्रपाका अन्य केन्द्रीय नेताहरूसँग उनले आग्रह गरेका छन्।

यसपटक राप्रपाका नेतृत्व आफूले लिए राप्रपालाई आगामी चुनावमा सशक्त पार्टी बनाउने आश्वासन उनले पार्टीका अन्य नेताहरूलाई दिएका छन्। ‘तर, यसपटक उहाँ(थापा)को कुरामा युवा पुस्ताले पत्याउने स्थिति छैन। किनभने, उहाँले पटकपटक अध्यक्षको जिम्मेवारी लिनुभएको छ,’ राप्रपाका एक केन्द्रीय सदस्यले भने।

यता,पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी पनि जसरी भए पनि राप्रपाको अध्यक्ष हुने लाइनमा छन्। उनीहरूले भित्रभित्रै टिम बनाउन थालेका छन्। तर, यसपटक थापा र राणाबीच सहकार्य हुने सम्भावना त्यति छैन। ‘जति भोट आउँछ। चुनाव लडरै आफ्नो शक्ति देखाउने सोचमा उहाँहरू हुनुहुन्छ,’ राप्रपाका अर्का एक केन्द्रीय सदस्यले भने।

राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार अहिलेसम्म राप्रपाको ७६ जिल्लामा जिल्ला अधिवेशन भइसकेका छन्। बाँकी एक जिल्ला भक्तपुरमा मात्र जिल्ला अधिवेशन हुन बाँकी छ। आइतबार सातवटै प्रदेशमा प्रदेश अधिवेशनको प्रक्रिया सुरु भएको छ। एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने श्रेष्ठले जनाए।

श्रेष्ठका अनुसार महाधिवेशनमा विधान परिमार्जन हुने भनिएको छ। परिमार्जित मस्यौदामा पदाधिकारीहरू आधा निर्वाचित र आधा मनोनीत हुने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य कार्कीले पनि राप्रपाका युवाहरूको चाहना पदाधिकारी चयन आधा निर्वाचित र आधा मनोनीतबाट हुनुपर्ने रहेको बताए।

२०४६ सालको जनआन्दोलनपछि स्थापना भएको राप्रपामा दर्जनौंपटक टुटफुट भइसकेको छ। स्थापना हुँदै राप्रपा दुईवटा बनेका थिए। त्यसपछि राप्रपा कहिले एउटा, कहिले दुईटा र कहिले तीनवटा बने। चुनावका बेला फुट्नु र पछि मिल्नु राप्रपाका लागि परम्पराजस्तै बनेको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App