८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बजगाईं कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्ने

युवा उद्यमी राजेन्द्र बजगाईंले नेपाली कांग्रेसको मंसिर २४ देखि २६ मा हुन गइरहेको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मुलुकको पर्यटन क्षेत्रमा २७ वर्षदेखि क्रियाशील उद्यमी बजगाईंले ‘विकासका निम्ति राजनीति’ नारालाई अघि सारेका छन्। कांग्रेसको २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए। त्यो बेला कुनै पनि नेताको प्यानलमा नपरे पनि सम्मानजनक मत पाउन सफल भए पनि विजयी हुन सकेनन्।

२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी गोरखा जिल्लाको १(२) नम्बर प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रबाट उम्मेदवार भएका थिए। विकट क्षेत्रको निर्वाचनमा उनी सक्रियतापूर्वक लागे पनि विजयी भएनन्। निर्वाचनमा पराजित भए पनि आफू निरन्तर सक्रिय भएर स्थानीय तहसँग जोडिएको उनले बताएका छन्।

उनी महाधिवेशन प्रतिनिधिमा लगातार तीन पटक निर्वाचित भएका छन्। यसपटक पनि उनलाई स्थानीय कांग्रेस मतदाताले लोकप्रिय मत दिएर विजयी गराएका हुन्। स्थानीयलाई आपतविपद पर्दा सजिलै सम्झिने र सहयोगको हात बढाउने गरेका कारण पनि बजगाईंप्रति आकर्षण देखिन्छ।

‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो’, बजगाईंले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यका रुपमा आफ्नो उम्मेदवारीको औचित्यबारे भने, ‘हाम्रो पार्टीमा अजेन्डाहरू पारित भई त्यसलाई समग्र देशको उत्थानमा प्रयोग गर्न सक्ने गरी अघि बढ्नु पर्छ। पार्टीको मुहान सफा गर्नलाई मैले आफ्नो उम्मेदवारी आवश्यक ठानेको छु।

पार्टी विधानमा कमजोरी रहेका हुँदा तिनलाई सुधार गर्न पनि केन्द्रीय सदस्यका रुपमा आफू पुग्नु आवश्यक भएको उनले बताए। ‘पार्टी सभापति धेरै कमजोर देखिने गरेका छन्, यसमा पनि सुधार हुनुपर्छ’, उनले भने।

कांग्रेसले यसपटक खुला केन्द्रीय सदस्य संख्या बढाएर २५ बाट ३५ पुर्‍याएको छ। उनी यसपटक संस्थापन वा संस्थापनइतर कुनै पनि टिमबाट आफू उम्मेदवार बन्ने बताए।

प्रकाशित: २६ कार्तिक २०७८ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App