२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय व्यवस्थालाई साम्राज्यवादले बोकेको छः बाँस्तोला

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै। तस्बिर: सन्देश श्रेष्ठ/नागरिक

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले नेपालको वर्तमान संसदीय व्यवस्था भनेको टाउकोले टेकेर हिँडेको व्यवस्था भएको टिप्पणी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले टाउकोले टेकेर हिँडेको वर्तमान व्यवस्थालाई साम्राज्यवादले बोकेर हिँडिरहेको दाबी गरे।

उनले भने, ‘अहिलेको व्यवस्था भनेको टाउकोले टेकेर हिँडेको व्यवस्था हो, टाउकोले टेकेको अवस्थामा अर्कैले बोक्नुपर्ने हुन्छ, हो। तर, अहिले टाउकोले टेकेको व्यवस्थालाई साम्राज्यवादले बोकेर हिँडिरहेको छ, त्यसैले यसलाई सच्याएर खुट्टाले टेकेर हिँड्ने बनाउनु पर्‍यो।’

नेता बाँस्तोलाले संसदीय व्यवस्था रहेसम्म अहिले देखिएको राजनीतिक विकृति विसंगतिको अन्त्य नहुने बताए। विकृत राजनीतिक अवस्थाको अन्त्य जरुरी रहेको भन्दै उनले भने, ‘संसदीय प्रणालीले देश चल्दैन, विकृति, विसंगतिको अन्त्य गर्दैन, त्यसैले अब सबै मिलेर यसको अन्त्यका लागि अभियान चलाउनु पर्छ।’ यो प्रणाली रहेसम्म जतिपटक चुनाव गरेपनि समस्या समाधान नहुने उनले ठोकुवा गरे।

‘पुष्पकमल दाहाल, केपी ओली वा शेरबहादुर देउवाको पार्टीले बहुमत, दुई तिहाई वा शतप्रतिशत मत ल्याएपनि अहिलेको प्रणालीको अन्त्य नभएसम्म देशले विकास र समृद्धि पाउँदैन,’ उनले भने।

नेता बाँस्तोलाले अहिलेको आवश्यकता भनेको जनमत संग्रह भएको बताए। जनमत संग्रहमार्फत आएको परिणामको सम्मान गर्ने बताउँदै उनले भने, ‘वैज्ञानिक समाजवाद कि दलाल पुँजीवाद भन्नेबारेमा जनमत संग्रह गरौं, अहिलेको निकास भनेको वैज्ञानिक समाजवाद हो।’ उनले अहिले नेपालमा पुँजीवाद नभएको बताउँदै पुँजीवादले पुँजीको निर्माण गर्ने भएपनि त्यस्तो नभएकाले नेपालमा पुँजीवादको चरित्र नभई दलाल पुँजीवाद रहेको बताए।

नेता बाँस्तोलाले सरकारसँग ३ बुँदे सहमति भएपनि त्यसको कार्यान्वयन नभएको बताए। सरकार सहमति भएपनि सत्ताले त्यसलाई नमानेको भन्दै उनले थपे, ‘किनभने दलाल पुँजीवादले जहिलेपनि अस्थिरता चाहन्छ, राजनीतिक सहमति भयो भने देशमा स्थिरता छाउँछ, समृद्धि आउँछ, विकास आउँछ, त्यसो भयो भने शान्ति आउँछ, एकता हुन्छ, त्यसकारण उनीहरु यो चाहँदैनन।’

प्रकाशित: १६ कार्तिक २०७८ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App