१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अधिवेसनः दस बुँदे पक्षधर कमजोर, ओली समूह बलियाे

नेकपा एमालेको अधिवेसनबाट सुनसरीको इटहरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरको एकलौटी पकड देखिएको छ। यहाँ एमालेको असन्तुष्ट समूह (दस बुँदे सहमतिका पक्षधर) पूरै पराजित हुन पुगेका छन्।

दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्चार्ज धर्म निरौलाको गृह जिल्ला सुनसरी हो। पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिई १० बुँदे सहमति पक्षधर नयाँ निर्वाचित कार्यसमितिमा कोही पनि परेका छैनन्।

अधिवेसनबाट अध्यक्षमा याम सुब्बा र उपाध्यक्षमा दुखीलाल चौधरी सर्वसहमत भएपनि अरु सबै पदमा निर्वाचन भएको हो। शनिबार भएको निर्वाचनको आइतबार सार्वजनिक भएको मत परिणाम प्रायः विजयी भएका धेरै ओली पक्षमा खुलेका छन्।

निर्वाचनमा प्यानल बनाएर नभएतापनि भित्रभित्रै ओली समूहले चलखेल गरेर १० बुँदे पक्षधर समूहलाई पाखा लगाएको असन्तुष्ट समूहका नेताले बताए। ‘हाम्रो प्रयास सहमति गरेर जानुपर्छ भन्ने थियो। जुन उचाईंबाट इमान्दारीका साथ अगाडिदेखि प्रयास गर्नुपर्थ्यो, त्यो चाँहि हुन नसकेकै हो,’ नेता आचार्य पक्षभर चन्द्र भट्टराईले भने, ‘अब निर्वाचन नै भएर परिणाम नै आएपछि त त्यसलाई सहजै लिनुपर्छ।’

सार्वजनिक भएको मत परिणाम अनुसार सचिवमा रुपेश बस्नेत, उपसचिमा मन्दिरा भट्टराई र जितेन्द्र थापा विजयी भएका छन्।  यस्तै, खुल्ला सदस्यमा राजु दंगाल, केदारनाथ बास्तोला, डिबी राई, उज्वल सिग्देल, टोमप्रसाद तिम्सिना, सुजन लामा, ऋषि नेपाल, प्रशान्त पोखरेल, चौठीलाल चौधरी, केदार घिमिरे, धुव्र कोइराला, बेदनाथ भेटवाल र गोपाल गिरी निर्वाचित भए। महिला सदस्यमा रञ्जु सिग्देल, कमला निरौला, अनिता निरौला, भिमाकुमारी तुम्बाहाम्फे, यमूना चापागाई, चन्दा पुरी, मेनुका घिमिरे र गोमा विश्वकर्मा विजयी भए छन्। कार्यसमितिमा आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका कोटासहित कुल ८५ जना निर्वाचित भएको निर्वाचन समितिका सदस्य हरि कट्वालले बताए।

कुल ५३८ मतमध्ये ५२१ मत खसेको र त्यसमध्ये ३६ मत बदर भएको थियो। सुनसरीमा पार्टी  दस बुँदे सहमति अनुसार २०७५ जेठ २ गते अघिको कमिटी मान्ने र नमान्नेबीच विवाद रहेको छ। ०७५ जेठ २ गते यहाँ पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूहको पकड रहेको थियो। माओवादी केन्द्रसँग पार्टी एकता हुँदा पनि सुनसरीमा माधव नेपाल पक्षधर समूहको पकड बलियो थियो। तर, पछिल्लो समय माधव नेपालले नयाँ पार्टी गठन गरेपछि उनी पक्षधर भएपनि साथ नदिई १० बुँदे सहमति पक्षधर रहेका नेता/कार्यकर्ताको समूह कमजोर भएको छ।

एमाले असन्तुष्ट समूहका नेता शिवनारायण चौधरीले एकपक्षीय कार्यसमिति निर्वाचन भएको विषयमा केही दिनभित्रमा वास्तविक कुरा सार्वजनिक गर्ने बताए। उनी ०७५ जेठ २ गते इटहरी उपमहानगर कमिटीका उपाध्यक्ष हुन्। ‘हामी असन्तुष्ट समूहको छलफल भइरहेको छ, केही दिनभित्र वास्तविक कुरा सार्वजनिक गर्नेर्छौ,’ उनले नागरिकसँग टेलिफोनमा भने।

अधिवेसनमा माओवादीबाट एमालेमा प्रवेश गरेकालाई समेत समेटेर नौं सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो। तर, चौधरीसहित असन्तुष्ट समूहका चार जनाले छाडेर समेत हिँडेका थिए। ओली समूहका नेता सर्वध्वज सावाले भने असन्तुष्ट समूहले अधिवेसनमा छलफलका क्रममा कुनै कुरा नभनी बाहिर बाहिर मात्र भन्नाले गर्दा समस्या भएको बताए।

प्रकाशित: १४ कार्तिक २०७८ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App