१५ चैत्र २०८० बिहीबार
राजनीति

वडावडामा एमालेको नयाँ नेतृत्व

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ हजारभन्दा बढी वडामा शनिबार नयाँ नेतृत्व चयन गरेको छ। दसौं महाधिवेशनको सम्मुखमा सबै तहमा नेतृत्व छान्ने क्रममा एकै दिन देशभरका ६ हजारभन्दा बढी वडामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चुनेको हो। मुलुकभरि ६ हजार ७ सय ४५ वडा छन्। अधिवेशन हुन बाँकी वडामा एक साताभित्रै सम्पन्न गर्ने एमालेले जनाएको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बाढीपहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी भए पनि एकैसाथ ६ हजारभन्दा बढी वडामा अधिवेशन भई नयाँ नेतृत्व चयन भएको छ। एमालेले पहिलोपटक यसरी वडा अधिवेशन गरेको हो। पाँच हजारभन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ। विवाद भएका केही वडामा पनि एक साताभित्रै अधिवेशन सम्पन्न हुने जानकारी एमालेले दिएको छ।

नयाँ विधानअनुसार वडा नेतृत्व चयन भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। नयाँ विधानअनुसार वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुनेछन्। गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन्। विधान महाधिवेशनले पास गरेको विधानअनुसार शनिबार सम्पन्न वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। सुनसरीलगायत केही जिल्लाका वडामा विवाद भएको र त्यहाँ देखिएका समस्या तत्काल समाधान गरिने एमालेले जनाएको छ।

देशभरिका वडा अधिवेशनलाई एमाले अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गरेका थिए। पार्टी कार्यालयमा रहेको ‘वार रुम’ बाट उनले करिब २ सय वडालाई सम्बोधन गरे। सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीबाट खराब व्यक्तिहरू बाहिरएपछि एमाले एकढिक्का बनेको बताउँदै निर्धक्क भएर पार्टी काममा लाग्न निर्देशन दिए। पुष्पकमल दाहाल र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको दाबी गर्दै उनले पार्टी विभाजन नभएको, खालि खराब तत्वहरू मात्र बाहिरिएको बताएका थिए। ‘पार्टीविरोधी गतिविधि गर्ने तत्वहरूको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं। आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जती गर्ने खालको प्रवृत्ति अब छैन। यो खुसीको कुरा हो,’ अध्यक्ष ओलीले भने।

उनले इतिहासमै यति ठूलो अधिवेशन एकैसाथ कसैले नगरेको दाबी गरे। ओलीले सरकारमा नभए पनि मुलुकको पहिलो पार्टी एमाले नै भएको दाबी गरे। ओलीले संविधानले तोकेको समयमा महधिवेशन नगर्ने पार्टीहरूसमेत रहेको उल्लेख गर्दै एमालेको महाधिवेशन समयमै हुने स्पष्ट पारे। ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर एमालेले करिब तीन साताअघि विधान अधिवेशन सम्पन्न गरेको थियो। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा यत्रो ठूलो विधान अधिवेशन यति सुव्यवस्थित र उन्नत समझदारीका साथ भएको पहिलो परिघटना रहेको दाबी पनि ओलीले गरे।

एमालेमा १० बुँदेको बिजोगः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति उल्लंघन गरेर १० बुँदेको बिजोग बनाएको आरोप लगाएका छन्।

उनले शनिबार पार्टीको सिन्धु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा १० बुँदे सहमति गरेर एमालेमै बस्नेको बिजोग बनाएको बताएका हुन्।

१० बुँदे कार्यान्वयन गर भन्नेहरूलाई ओलीले हेप्न थालेको उनले बताए। १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भएको र उनीहरूले पार्टीमा कुनै मर्यादा र सम्मान नपाएको नेपालको भनाइ थियो। वाग्मती र प्रदेश १ मा छिट्टै एमाले नेतृत्वको सरकार ढल्ने पनि उनले बताए। वाग्मतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए। प्रदेश १ मा यही सात राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको उनले बताए। त्यसक्रममा अहिलेको गठबन्धन निर्वाचनसम्म नै कायम रहने दाबी गरे।

नेता नेपालले नेताहरूको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैलीकै कारण एमालेबाट आफूहरूले विद्रोह गरेको बताए। ‘कुनै मर्यादा छैन। कुनै सम्मान छैन। कुनै छलफल छैन। हो यी सबै कारणले हामीले एमालेबाट विद्रोह गर्नुपरेको हो,’ अध्यक्ष नेपालले भने।

प्रकाशित: ७ कार्तिक २०७८ ००:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App