१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परमादेशको आधारमा बनेको सरकार समृद्धि विरुद्ध छः पोखरेल

नेकपा एमाले कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै एमाले महासचिव ईश्वर पोखरेल । तस्बिर ः उमेश पुन÷नागरिक

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परमादेशको आधारमा बनेको वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, विकास र समृद्धि बिरुद्ध रहेको आरोप लगाएका छन्।  एमाले कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्तिहरुको भएको बताए।

‘वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्तिहरुको हो,’ उनले भने, ‘यो सरकार लोकतन्त्र र गणतन्त्रको बिरुद्ध छ। मुलुकको आर्थिक विकास र समृद्धिका बिरुद्ध छ।’ समाजमा देखिएका अराजकतालाई बढावा दिनका लागि एमाले सरकार ढालेर गठबन्धन सरकार बनेको उनले आरोप लगाए।  

‘यो गठबन्धन मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई धरासायी बनाउनका लागि भएको हो । स्वतन्त्रताको मुद्धालाई कमजोर बनाउनका लागि हो,’ उनले भने। महासचिव पोखरेलले एमालेले उठाएको मुद्धालाई कमजोर बनाउनका लागि देशी÷विदेशी शक्तिहरु लागिरहेको आरोप लगाए। ‘हामीले विकास र समृद्धिका मुद्धा उठाएका छौं, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका मुद्धा उठाएका छौं, त्यसलाई रोक्नका लागि देश भित्रका शक्तिहरु मात्रै होइन बाहिरका पनि लागे,’ उनले भने। उनले एमालेको सरकारलाई जनताको समर्थन हुँदाहुँदै पनि त्यो सरकारलाई अपदस्त गर्नुको कारण पनि विकास र समृद्धिलाई रोक्न र राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउनका लागि भएको बताए।

सरकार ढालेपनि एमाले आफूले उठाएका विकास र समृद्धिको संकल्प पूरा गर्न कहिल्यै पछि नहट्ने नेता पोखरेलले बताए। ‘हामी जुनसुकै ठाउँमा रहौं वा पुगौं । हामी हाम्रो मुद्धा कुनैपनि हालतमा छाड्दैनौं। एमाले आफ्ना मुद्धाबाट एक ईञ्च पनि तलमाथि गर्ने छैन,’ उनले भने । उनले जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरेर परमादेशका आधारमा गठन भएको सरकारको भण्डाफोर गर्ने बताए। एमालेलाई लोकतान्त्रिक मूल्य मान्यताबाट बिचलित हुन्छ कि भन्ने भ्रम नपाल्न उनले आग्रह गरे।  ‘एमाले हिजो उठाएको मुद्धाबाट बिचलित हुन्छ कि ? लोकतान्त्रिक मूल्य मान्यताबाट बिचलित हुन्छ कि भन्ने विरोधीहरुले ठानेका हुनसक्छन्। तर हामी कुनैपनि हालतमा यी मुद्धाहरुबाट पछि हट्ने छैनौं,’ उनले भने।  

महासचिव पोखरेलले ओली नेतृत्वको एमाले सरकारले गरेका राम्रा कामहरु उल्टाउने प्रयास वर्तमान सरकारले गरिरहेको भन्दै विरोध जनाए। तर त्यसलाई एमालेले सम्भव हुन नदिने चेतावनी दिए। ‘हिजो गरिएका राम्रा कुराहरुलाई सरकारले खण्डित गर्ने कोशिष गरिएको छ। यो सम्भव हुनेवाला छैन। हामी त्यसलाई सम्भव हुन दिन्नौ,’ उनले भने।

एमाले महासचिव पोखरेलले अहिले देश दुई ध्रुवमा विभाजित भएको बताए। उनले भने, ‘एकातिर राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अराजकताको अन्त्य, विकास र समृद्धिको मुद्धा उठाउने र अर्कातिर राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउने, अराजकता मच्चाउने, विकास र समृद्धि हुन नदिने शक्तिहरु गरि दुई ध्रुवमा देश विभाजित छ।’ महासचिव पोखरेलले ओली सरकारले अगाडि सारेका विकास र समृद्धिका संकल्प अरु कसैले पूरा गर्न नसक्ने दाबी गरे।  

कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले एमालेबाहेक अन्य पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्न नसक्ने ठोकुवा गरे। उनले वर्तमान सरकार दलाल पुँजीवादी, नोकरसाहीको मतियार भएको आरोप समेत लगाए। एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले विदेशी शक्तिको सेटिङमा एमाले विभाजन गरिएको भन्दै यो कदापी स्वीकार्य नहुने बताए।

अर्का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले विगतका कमीकमजोरी सच्याएर फेरि पनि अग्रगामी शक्तिहरुबीच एकता गर्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

प्रकाशित: ३ कार्तिक २०७८ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App