८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रजातन्त्रविरुद्ध जाने सपना कसैले नदेखे हुन्छ’

दुई ठाउँमा चिप्लिए प्रधानमन्त्री

गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः उमेश पुन/नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि प्रजातन्त्रविरुद्ध जाने सपना नदेख्न चेतावनी दिएका छन्। गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आइतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरू केही हुन सक्दैन। कोही कसैले सपना नदेखे हुन्छ प्रजातन्त्रको खिलाफमा जाने। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, यो कुरा स्पष्ट होस्।’

प्रधानमन्त्री देउवाले संघीयता पूर्णरूपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको बताए। उनले संघीयता कार्यान्वयनसँगै छिटो छरितो रूपमा विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले नेपाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित भइनसके पनि नियन्त्रणका लागि हामीले गरेको प्रयासलाई विश्व स्वास्थ्य संगठनले सराहना गर्दै धन्यवाद दिएको उल्लेख गरे। 

त्यस्तै, उनले बेलायत सरकारले पनि नेपाल सुरक्षित रहेको भन्दै नेपालीलाई भिसा दिने निर्णय गर्नु देशका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। देउवाले शैक्षिक व्यवस्थापनमा समयअनुकूल सुधार गर्नुपर्नेमा जोड दिए। उनले शिक्षालाई नेपालको संविधानले मौलिक हकको रूपमा लिपिबद्ध गरेको र शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने नीति सरकारले कार्यान्वयन गर्दै आएको बताए। उनले साक्षरता र समृद्धिबीच सोझो सम्बन्ध रहने बताउँदै भने, ‘समृद्धिको आधार नै साक्षरता हो। जनतालाई साक्षर बनाउन् सरकारको दायित्व र जिम्मेवारी हो, यसमा सरकार गम्भीर छ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले गण्डकीलाई ‘साक्षर प्रदेश’ घोषणा गरे। यसका लागि उनले गण्डकी प्रदेशवासी र प्रदेश सरकारलाई बधाई दिए। साक्षर प्रदेश घोषणा गर्नुअघि उनले पोखरा नयाबजारस्थित प्रदेश संग्रहालयमा निर्माण गरिएको ‘साक्षरता स्तम्भ’ अनावरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साक्षरता प्रदेश घोषणा हुनु गर्वको विषय भएको बताए।

गण्डकी प्रदेशका ८५ वटा पालिका र ११ वटा जिल्ला साक्षर घोषणा भएसँगै प्रदेशलाई साक्षर घोषणा गरिएको गण्डकी प्रदेशका प्रमुख सचिव दामोदर रेग्मीले बताए। शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत छ। प्रदेश राजधानी कास्कीमा साक्षरता प्रतिशत ९६ छ। त्यस्तै स्याङ्जामा ९६.१६, तनहुँमा ९६.४०, लमजुङमा ९५.५, गोरखामा ९७.२०, नवलपुरमा ९८, पर्वतमा ९६.९३, बागलुङमा ९६.५७, म्याग्दीमा ९६.२७, मनाङमा ९६.९० र मुस्ताङमा ९६.३५ प्रतिशत जनता साक्षर रहेको तथ्यांक छ।

राष्ट्रसंघको विश्वव्यापी अभ्यासअनुसार साक्षरता घोषणाका लागि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्छ। यसै अभ्यासलाई आधार बनाएर नेपाल सरकारले पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ। यहि नीति अनुसार गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बताए। गण्डकी प्रदेशमा १५ वर्ष उमेरमुनिका २ प्रतिशत निरक्षर रहेको मन्त्रालय शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए। उनका अनुसार यस प्रदेशमा ९८.५ प्रतिशत विद्यालय भर्नादर छ।

दुई ठाउँमा चिप्लिए प्रधानमन्त्री

गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दा प्रधानमन्त्री देउवा तथ्यमा चिप्लिए। सम्बोधनको सुरुमै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा र युवाकवि मोतीराम भट्टको जन्मभूमि गण्डकी प्रदेश भएको बताए, जुन गलत हो। त्यस्तै, उनले गण्डकी साक्षर बन्ने पहिलो प्रदेश भएको बताए। यो सही होइन। यसअघि वाग्मती प्रदेश साक्षर घोषित भइसकेको छ। प्रधानमन्त्रीले लिखित सम्बोधन गरेका थिए। तर उनले सम्बोधनको सुरुवात मौखिक रूपमा गरेका थिए। यसैकारण उनले गलत बोलेको अनुमान गरिएको छ। स्रोतले भन्यो, ‘लिखित भाषणमा त्यस्तो थिएन, उहाँ आफैंले मौखिक भाषण गर्दा गलत तथ्यांक आयो।’

प्रकाशित: २५ आश्विन २०७८ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App