७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेता सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। उनले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै सभापतिमा उम्मेदवारी दिने बताएका हुन्।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताए।आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने उनको भनाइ छ। सो अवसरमा उनले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उनीहरुले पार्टीमा अभिभावकत्व गर्नुपर्ने पनि बताए।  

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताए। नेता थापाले थोरै समयमा कांग्रेसलाई शुद्ध र सुढृढ बनाउन लाग्नुपर्ने बताउँदै नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबी गरे। नेता थापाले मुलुकलाई कम्युनिष्टको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे।

पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कांग्रेस काठमाडौँको महाधिवेशनलाई देशभरले चासोका साथ हेरेको भन्दै सक्षम नेतृत्व ल्याउनुपर्ने बताए। कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायतले अधिवेशनको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: १६ आश्विन २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App