७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

महाधिवेशनको मुखमा 'जरा सिँच्दै' काँग्रेस पर्सा

‘आत्माराम ओझा दुखा सहनी स्मृति भवन’ भनिएको वीरगन्ज–२४, मा निर्माणाधीन नेपाली काँग्रेस, पर्साको जिल्ला कार्यालय । तस्बिरः नागरिक

विगत लामो समयदेखि पार्टी कार्यालयविहीन रहेको नेपाली काँग्रेस, पर्साले वीरगन्ज महानगरपालिका–२४, रामगढवामा नयाँ भवन बनाएर त्यसको नामाकरण पुराना नेताहरुको नामले गरेको छ। भवनको नाम आत्माराम ओझा दुखा सहनी स्मृति भवन राखिएको छ। १४ औं महाधिवेशनको चटारोबीच भवनको संरचना खडा गर्न पनि तीव्रता दिइएको छ।

जसको नाममा पार्टी कार्यालयको भवनको नामाकरण गरिएको छ ति दिवंगत नेताका परिवारका सदस्यहरुको हातबाट त्यहाँ पार्टीको झण्डा फहराइ सकिएको छ। नयाँ पुस्ताका कयौं काँग्रेसीका लागि ‘दुखा सहनी’ र ‘आत्माराम ओझा’को नाम अहिले प्रचलनमा नरहेको नाम हो। ‘प्रजातन्त्रको पक्षमा लागेकै कारण १६ वर्ष जेल जीवन बिताएका काँग्रेसी नेता हुनुहुन्थ्यो स्वर्गीय दुखा सहनी, एउटा त्यागी र उच्च योगदान भएको जिल्लाको नेताको रुपमा उहाँलाई स्मरण गरिन्छ,’ काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले भने, ‘त्यसतै आत्माराम ओझा पनि करिब १२ वर्ष जेलजीवन बिताएको र एउटा दुरदर्शी नेता हुनुहन्थ्यो।’  

सुरुमा ‘सुवर्ण शम्शेर स्मृति भवन’ र ‘जिरिजाप्रसाद कोइराला स्मृति भवन’मध्ये एउटा नाम राख्ने चर्चा चलेपनि अन्ततः पार्टीमा र प्रजातन्त्र आन्दोलनमा उच्च योगदान भएका स्थानीय र मधेसीमुलकै नेताको नाममा भवनको नामाकरण गर्ने निश्कर्षमा आफूहरु पुगको द्विवेदीले नागरिकलाई बताए। कुनै बेला ‘काँग्रेसको गढ’ कहलिएको पर्सा जिल्लामा पछिल्लो समय नेपाली कांग्रेस पार्टीको लागि मुस्किलमय रह्यो। जिल्लाका १४ पालिकामध्ये यो पार्टीले ११ मा हार बेहोर्नु पर्यो। त्यसतै प्रदेशसभाका लागि जिल्लामा रहेको ८ मध्ये ६ र प्रतिनिधिसभाका कुल चारैवटा सिट काँग्रेसले गुमायो। पर्सामा पुनः आफ्नो साबिक बर्चश्व फर्काउनका लागि प्रयासरत रहेको नेपाली काँग्रेस अब आफ्नो जरो खोजेर त्यसलाई सिँचित गरिरहेको छ। अर्थात जिल्लाका पुराना नेताहरुको महत्व स्वीकारिएको छ।  

अहिले क्रियाशील सदस्यता विवाद रहेको जिल्लामध्येमा पर्सा जिल्ला पर्दछ। काँग्रेसको १४ औं महाधिवेशन केन्द्रित अधिवेशनका कार्यक्रम यहाँ अनिश्चित रहेको छ। अर्कोतिर गत असोज १ गते निर्माणाधीन पार्टी कार्यालयको भवनमा झण्डातोलन गरिएको छ। पार्टीले जिल्लामा बितेको स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा हार बेहोर्नुका कारणमध्ये मधेस आन्दोलनको प्रभाव र पुराना काँग्रेसीजनको पार्टीसंगको सम्बन्ध फितलिनुलाई पनि मानिएको द्विवेदीले बताए। अहिले मधेसीमुलकै अग्ला कदका स्थानीय नेताहरुको नाममा भवनको नाम राख्नुलाई पछिल्लो असफलताका कारणहरु सच्याउन प्रयासको रुपमा लिइएको छ।  

‘हो हामीले स्थानीय नेताहरुको स्मृतिमा भवनको नाम राखेर यहाँको समाजसंगको पार्टीको गहिरो सम्बन्ध देखाउन चोहका छौं, जसको नाम राखिएको छ, उहाँहरुजस्ता नेताले मिलेर स्थापित गरेको पार्टी हो यो,’ द्विवेदीले भने, ‘हामी आफ्नो जरो सिँच्दैछौंं भनी भन्न सक्नुहुन्छ।’ कांग्रेस पर्साको जिल्ला कार्यालय राखिने ‘आत्माराम ओझा दुखा सहनी स्मृति भवन’मा स्वर्गीय आत्माराम ओझाका भतिजा सत्येन्द्रनारायण ओझा तथा दुखा सहनीकी श्रीमती सुरूजपती देवी समेतले झण्डा फहराएका थिए।  

विवाद कायमैं

पर्सामा काँग्रेसले हार बेहोर्नुको मुख्य र तेस्रो कारणको रुपमा रहेको आन्तरिक मनमुटाव पछिल्लो संस्करणको रुपमा क्रियाशील सदस्यता विवादको रुपमा देखिएको छ। लामो समयदेखि एकसाथ नदेखिएका नेताहरु निर्माणाधीन पार्टी कार्यालयमा पनि साथमा देखिएनन्। काँग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य रमेश रिजाल, मधेस विभाग प्रमुख केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी र पूर्व जिल्ला बिकास समितिका सभापति रहेका काँग्रेस नेता जनार्दन सिंह क्षेत्री त्यहाँ देखिएनन्।  

‘हामीसंग न कुनै सल्लाह परामर्श भएको छ, न खबर छ, उहाँहरु आफैआफै जेजे मन लागको छ, गर्नु भएको छ,’ नेता क्षेत्रीले भने, ‘अधिवेशनको मुखमा निर्माणाधीन पार्टी भवनमा झण्डा फहराउने कार्यक्रमको तुक देखिँदैन, चुनावी लोकप्रियताको प्रयास हो यो।’ पार्टीको झण्डा र चुनाव चिन्हलाई मात्र चिनेका आम काँग्रेसी कार्यकर्ता अहिले पर्सामा निराश रहेको पोखरिया नगरपालिकाका काँग्रेसी नेता सुरेन्द्र सिंह बताउँछन्। 

‘सबै पार्टीभित्र आन्तरिक विवाद र गुट रहेको पाइन्छ, तर काँग्रेसले यसको नतिजास्वरुप चुनावहरुमा बेहोर्दै आएको पीडा धेरै ठूलो छ,’ सिंहले दावी गरे, ‘आपसी विवाद समाधान गर्ने क्षमता बिवेक मात्र नेताहरुले देखाउन, पर्सा काँग्रेसको गढ फेरि हुन्छ।’

प्रकाशित: १० आश्विन २०७८ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App