१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुरका सबै गाउँ-नगरमा काँग्रेस अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको आसन्न महाधिवेशनअन्तर्गत उदयपुरका ८ वटै स्थानीयतहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका सबैमा कतै निर्विरोध त कतै चर्को प्रतिस्पर्धाका साथ शनिबार अधिवशेन सम्पन्न भएको हो।

पार्टी जिल्ला कार्यालयका अनुसार यसअघि वडा अधिवेशन सकेर नगर तथा गाउँ अधिवेशनमा होमिएको पार्टीमा पूर्व सभापति हिमाल कार्की र वर्तमान सभापति बिदुर बस्नेत प्यानल भएर दुई खेमाका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। कार्की र बस्नेत दुवैले आउँदो जिल्ला अधिवेशनमा सभापतिको दावेदारी घोषणा गरिसकेका छन्। कार्की खेमालाई उदयपुर प्रतिनिधिसभा १ नं. का संघीय सांसद तथा नवनियुत्तः परराष्ट्रमन्त्री डा. नारायण खड्को पनि सहयोग रहेको छ।  

शनिबार सम्पन्न ४ नगरपालिका र २ गाउँपालिकामा शान्तिपूर्वक मतदान सम्पन्न भएर समिति चयन भएको पार्टीले जनाएको छ। जसमध्ये बेलकामा सभापतिमा अशोक कार्कीको प्यानलै जितेको छ। हिमाल कार्की प्यानलका अशोक कार्कीले बस्नेत प्यानलका बाबुराम थापालाई ४८ मतका विरुद्ध ९७ मत पाएर नगर सभापति जितेको अविधेशन निर्वाचन समितिले जनाएको छ। कार्की ०७४ को स्थानीयतह निर्वाचनमा बेलका नगरपालिका मेयरका पराजित उम्मेदवारसमेत हुन्।  

त्यसैगरी चौदण्डीगढी नगर सभापतिमा कार्की पक्षकै राजेन्द्र पौडेलको प्यानल जितेको छ। उनले बस्नेत प्यानलका रामकुमार खड्कालाई पराजित गर्दै सभापति जितेका हुन्। १ सय ८३ मतदाता रहेको चौदण्डीगढीमा कार्की प्यानलका पौडेलले ९६ मत ल्याएका थिए भने बस्नेत प्यानलका खड्काले ७३ मत पाएको पार्टी निर्वाचन समितिले जनाएको छ।  

यता त्रियुगा नगरपालिकामा पनि कार्की प्यानलकै प्रकाश खड्का सभापतिसहित ७ सदस्यीय समितिमा ४ जना जितेका छन्। बाँकी ३ जना भने बस्नेत प्यानलका उम्मेदवारले जितेका छन्। ३ सय ८२ मतमध्ये २० मतको अन्तरले प्रतिस्पर्धी सुमन चौधरीलाई पराजित गर्दै खड्का सभापतिमा जितेको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी कटारीमा प्रकाश थापा सभापतिसहित प्यानलै जितेका छन्। कटारीमा भने बस्नेत प्यानलले जितेको छ। कार्की प्यानलका प्रेम थापाभन्दा बस्नेत प्यानलका प्रकाश थापाले ९२ का विरुद्ध १ सय ४९ मत ल्याएका छन्।  

गाउँपालिकातर्फ रौतामाईमा बस्नेत प्यानलकै घमानसिंह थापामगरले सभापति जितेका छन्। उनले कार्की प्यानलका टेकबहादुर दाहाललाई ७३ विरुद्ध ९६ मत ल्याएर सभापति हात पारेका हुन्। त्यसैगरी अर्को गाउँपालिका लिमचुङबुङमा कार्की प्यानलकै नेत्र कार्कीले सुनिल राईलाई पराजित गरेर सभापति हात पारेका छन्। ८२ मतदाता रहेको लिमचुङबुङमा प्रतिस्पर्धी दुई मतको मात्र फरकले कार्की जितेका हुन्।

उता ताप्ली र उदयपुरगढी गाउँपालिकामा भने सभापतिलगायत अन्य पदाधिकारी निर्बिरोध चयन भएको पार्टीले जनाएको छ। उदयपुरगढी गाउँ सभापतिमा यमबहादुर पाण्डे र ताप्ली गाउँ सभापतिमा दिपबहादुर रास्कोटी ठकुरी निर्बिरोध निर्वाचित भएका छन्। काँग्रेस गाउँ नगर अधिवेशनमा सबभन्दा बढी मतदाता सदरमुकाम त्रियुगामा र कम ताप्ली र लिमचुङबुङमा रहेको पार्टीले जनाएको छ। नगर गाउँ अधिवेशन सकिएपछि अव क्षेत्रीय अविधेशनको तयारीमा पार्टी लाग्ने जिल्ला सभापतिका आकांक्षी हिमाल कार्कीले बताए।  

आसन्न महाधिवेशनका लागि जिल्ला सभापतिमा बस्नेत र कार्की दुवैले दावी नछाडेपछि नयाँ पुस्ताका उम्मेदवारहरु सबै पछि हटेका छन्। यसअघि बसन्त बस्नेतले सभापतिको उम्मेदवारी घोषणा गरे पनि एकै परिवारभित्रका हालका सभापति विदुर बस्नेतले दावी नछाडेपछि बसन्त पछि हटेर २ नं. प्रदेश १ (ख) बाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन्।

प्रकाशित: १० आश्विन २०७८ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App