२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदाता नामावलीका लागि वडास्तरमा टोली खटाउन काँग्रेस पर्साको माग

क्याप्शन

नेपाली काँग्रेस पर्साले आगामी निर्वाचनहरुका लागि नयाँ मतदाताहरुको नामावली दर्ता गर्न वडास्तरमै निर्वाचन आयोगले टोली परिचालन गर्नुपर्ने माग राखेको छ। नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी नेतृत्वको टोलीले मतदाता नामावली दर्ता गर्नका लागि वडावडामा टोलि खटाउने मागसहित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत निर्वाचन आयोगलाई पठाएको छ।

‘करिब दुई वर्षदेखि कोरोना महामारीका कारण सबभन्दा बढी प्रभावित जिल्लामध्ये पर्सा भएकोले नयाँ मतदाता नामावली दर्ता पनि प्रभावित भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस जिल्लामा मतदाता नामावली दर्ता गर्नका लागि दिनहुँ हजारौंको संख्यामा पालिकाका वडाहरुबाट मतदाताहरु सदरमुकाम वीरगन्ज आउने गरेको तर न्युन संख्यामा नामावली दर्ता हुने भएको हुनाले मतदाताहरु यतिकै फर्किनु पर्ने भइरेहको छ।’  

हजारौं मतदाताहरु नामावली दर्ताबाट बञ्चित हुने अवस्था देखिएको जिल्ला सभापति द्विवेदीले बताए। ‘सरकारको काम हो प्रत्येक नागरिकलाई सहज र सरल रुपमा सेवा दिनु त्यसको विपरित पर्सामा वडावडाबाट नागरिक सदरमुकाम वीरगन्ज आउने र रितै फिर्ता हुनुपर्ने अवस्थाप्रति ध्यानाकर्षण गराउन चाहेका छौं,’ नेता द्विवेदीले भने, ‘मतदाता नामावली दर्ता निर्वाचन आयोगको महत्वपुर्ण जिम्मेवारी हो जुन, यस प्रकारले पूरा हुन भ्याउँदैन।’

उनले प्रत्येक वडामा टोली पठाएर नयाँ मतदाताहरुको नामावली दर्ता गर्न आवश्यक रहेकोले यसको लागि आयोगलाई ज्ञापन पठाएको जनाए। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ज्ञापनपत्र बुझ्दै आयोगलाई तत्कालै पठाइने जनाए।  

जिल्ला प्रसाशन कार्यालय र निर्वाचन आयोगको जिल्ला कार्यालयमा मतदाता आफै पुगेर दर्ता गराउन चाहे पनि जनशक्ति, साधन र समय अपुग भइरहेको टोलीमा सहभागी काँग्रेसका जिल्ला सचिव श्याम पटेलले प्रतिक्रिया दिए। गाउँगाउँमा मतदाता नामावली दर्ता टोली पठाउनुको विकल्प नदेखिएको टोलीमा सहभागी रोशन लामिछानेले प्रतिक्रिया दिए। सचिव किशोरी कानु, नेतृ किरण सरकार लगायतको उपस्थिति थियो।

प्रकाशित: ६ आश्विन २०७८ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App