८ वैशाख २०८१ शनिबार
राजनीति

रत्नपार्कमा बसेर वितरण गरे जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध भएन: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।  

मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताएका हुन्। उनले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए ।  

आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा। अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदी इत्यादीलाई पनि वितरण गरिदिएको छ ति पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । 

कतैबाट आवाज नआओस्। कतैबाट विरोधको स्वर नआओस्। कतैबाट उज्यालो नछिरोस्। सबैतिर अन्धकारमा चलाउने। बिरोधी नै रहेनन्। हामीलाई कुनै टाउको दुखेको होइन। यति धेरै पदकहरु त कहिले पनि बाडिएको थिएन होला। रत्नपार्कमा बसेर वितरण गरिएको जस्तै छ क्या ह्वारह्वार। म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो। के हुन्थ्यो ? बुद्धिजिवीहरुले के भन्थे? नागरिक समाज के भन्थ्यो ? चुपचाप। आज रमाइलो छ सबै चुपचाप छन्। सञ्चो छ। शान्त छ।’

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गरे। सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ। उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यतातर्फ नहेर्न अनुरोध समेत गरे। सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ।  

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे। उनले भण्डारीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको चर्चा समेत गरेका थिए। 

प्रकाशित: ५ आश्विन २०७८ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App