६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस अलोकतान्त्रिक बन्दै गएको छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस अलोकतान्त्रिक प्रवृतिबाट अघिबढीरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा कोइरालाले नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टी भनिए पनि अलोकतान्त्रिक प्रवृतिबाट अघि बढिरहेको बताएका हुन्।  

संसद छलेर सरकारले अध्यादेशबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर कांग्रेसको नेतृत्वमा बनेको सरकारले अलोकतान्त्रिक काम गरेको उनले बताए। ‘नेपाली कांग्रेसलाई हामीले लोकतान्त्रिक त भन्यौ’, उनले भने, ‘तर, अहिले अलोकतान्त्रिक प्रवृतिबाट अघि बढिरहेको छ।’  

अहिलेको नेतृत्वले नेपाली कांग्रेसलाई सहि तरिकाले अगाडि बढाउन नसक्ने भएकाले महाअधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्नु आवश्यक भइसकेको उनको भनाई छ। कोइरालाले नेतृत्व परिवर्तनका लागि नेपाली कांग्रेसभित्र आफूहरूले संघर्ष गरिरहेको बताए। को सभापतिको उम्मेद्वार बन्ने भन्दा पनि कसरी नेतृत्व परिवर्तन गर्ने भनेर आफूहरूबीच छलफल भइरहेको उनले बताए। नेपाली कांग्रेसको सभापतिको दाबी गर्दै आएका कोइरालाले सभापतिलगायतका पदाधिकारीहरूको विषयमा छलफल गरेर साझा उम्मेद्वार बनाउने जानकारी दिए।  

‘सभापति परको कुरा हो। अहिले त जिल्ला अधिवेशन नै भइसकेको छैन’, उनले भने,‘छलफल गरेर उम्मेद्वार बनाउँछौं।’  

नेपाली कांग्रेसमा कोइराला परिवारको मात्रै योगदान नभएकाले पार्टीका लागि लामो समयदेखि योगदान गर्ने अन्य नेताहरूलाई पनि समेटेर अघि बढ्ने धारणा राखे। उनले एमसिसीका केहइी बुँदाहरू परिमार्जन गरेर अघि बढ्नु उपयुक्त हुने बताए। कोइरालाले अरुण तेस्रो रोक्दा लोडसेडिङको मार खेप्नु परेजस्तै एमसिसी रोक्दा पनि यस्तो समस्या आउने तर्फ सचेत रहनुपर्ने बताए। कोइरालाले सरकार सञ्चालनका विषयमा गरिएको प्रश्नमा सरकार चलेको छ र? भन्दै प्रतिप्रश्न गरे।  

उनले प्रदेश १ र ३ मध्ये नेपाली कांग्रेसले एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने बताए। उनले भने, ‘दुई मध्ये एक प्रदेशको सरकारमा नेपाली कांग्रेसले नेतृत्व पाउनुपर्छ।’

प्रकाशित: २ आश्विन २०७८ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App