४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा राई चयन

नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेता चयन गरेको हो।

संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको नेकपा (एकीकृत समाजवादी) का सांसद उपेन्द्र घिमिरेले जानकारी दिए। प्रमुख सचेतक र अन्य पदाधिकारीहरू भने अर्को बैठकले चयन गर्ने घिमिरेले बताए। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको पक्षमा प्रदेश १ का १० जना सांसदले सनाखत गरेका थिए। 

बैठकले नेकपा एमालेबाट बनेका मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई समर्थन नगर्ने निर्णय पनि गरेको घिमिरेले बताए। ‘मुख्यमन्त्री आचार्यलाई नेकपा (एस)ले समर्थन नगर्ने  निर्णय प्रदेशसभालाई पत्र पठाएर जानकारी गराइसकिएको छ’, घिमिरेले भने। नेकपा एमालेबाट राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले  नेकपा (एस) ले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ। 

बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीमप्रसाद आचार्य अल्पमतमा परिसकेकाले अब उनले विश्वासको मत लिनुपर्नेछ। प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

प्रकाशित: २८ भाद्र २०७८ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App