१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

निधितिर खुल्ने शर्माको संकेत

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि समूहमा खुल्ने संकेत गरेका छन्। आगामी महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बन्ने घोषणा गरेको भोलिपल्ट शर्मा पार्टी उपसभापतिसमेत रहेका सभापतिका आकांक्षी निधिसँगै देखिएका हुन्। 

थापागाउँ स्थित पाटीप्यालेशमा सम्पर्क कार्यालय नै स्थापना गरेर महाधिवेशनको प्रचारमा जुटेका निधिले चौरचन (गणेशको जन्मदिन) का अवसरमा आयोजना गरिएको पूजामा शर्मा पनि उपस्थित भएका छन्। निधि र उनकी पत्नी अनामिकाले आफ्नै निवासमा चौरचन गरेको पूजामा उपस्थित शर्माले पनि सँगै पूजा गरेका छन्। उक्त तस्बिर निधि पत्नी अनामिकाले सामाजिक सञ्जाल फेसबुकमा चौरचनको हार्दिक शुभकामना भनेर पोस्ट गरेकी छन्।

बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा बिहीबार सुन्दरीजल पुगेका शर्माले बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पणसहित दिउँसो १ बजेर ७ मिनेटमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, शर्माले १४औं महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवार को हो खुलाइसकेका छैनन्। पछिल्ला दिनमा सभापति शेरबहादुर देउवासँग शर्माको दूरी बढ्दै गएको जनाउँदै निकट एक नेताले भने, ‘नेता कृष्णप्रसाद सिटौला तत्कालीन सभापति सुशील कोइरालातिर लागेपछि शर्मा देउवातिर लागेका थिए। तर, अहिले फेरि सिटौला उतै पुगेकाले अब उनी त्यहाँ रहने अवस्था देखिँदैन।’

प्रचार समितिको कामका विषयमा देउवानिकट नेताले शर्माविरुद्ध गलत कुरा सुनाउने गरेको र प्रधानमन्त्रीको प्रेस सल्लाहकार राख्नेसहितका विषयले सम्बन्ध थप चिसिएको निकटहरूके दाबी छ। निधि पत्नी अनामिकाले शुक्रबार मात्र पार्टीको १४औं महाधिवेशनमा आफू महाधिवेशन प्रतिनिधिमा चुनाव नलड्ने घोषणा गरेकी थिइन्। पति निधिलाई सभापतिमा बाहिरै बसेर सहयोग गर्ने बताउँदै उनले भनिन्, ‘मैले त पार्टीका नेता तथा कार्यकर्ताबाट त्यसै सम्मान पाएकै छु। मैले छाड्दा अर्की एकजना महिला साथीले नेतृत्वमा आउने अवसर पाउनुहुन्छ। मैले त्यसका लागि ठाउँ खाली गर्ने निर्णय लिएकी छु।’

प्रकाशित: २६ भाद्र २०७८ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App