६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र  अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन्। उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए।  

‘चार वर्षदेखि थाँती रहेको विषय छ यो। अहिले हामी संयुक्त सरकारमा हौँ। हामीसँग मात्र होइन, अरू पार्टीसँग पनि कुरा गर्नुहोस्’, नेपालको भनाइ उद्धृत गर्दै नेता तुलाधरले भने, ‘यो नेपाली जनतासँग जोडिएको बिषय हो। नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरू आएका बेला सुनिश्चित हुन पाओस्।’ उनका अनुसार भेटवार्तामा आफूहरूले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरू गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोसिस गरेकी थिइन्।  

उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी थिइन्। ‘एमसीसी कार्यान्वयन गर्नुहुन्छ, त्यो तपाईंहरूको हितमा छ, गर्नुहुन्न, त्यसले कुनै अहित गर्दैन। हामी दबाब दिनका यहाँ आएका होइनौँ’, उपाध्यक्ष सुमारले नेता नेपाललाई भनिन्।

भेटवार्तामा एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्छ भनेर नेता नेपालले जोड दिएका थिए। ‘एमसीसीबारेमा जे खालका भ्रम उत्पन्न भएका छन्, त्यो हामीबाट मात्र नभएर तपाईंहरूबाट पनि भएको छ। स्वयं अमेरिकी सरकारका जिम्मेवार व्यक्तिले दिएका अभिव्यक्तिबाट एमसीसीबारे भ्रम फैलाइएको छ’, नेता नेपालले सुमारलाई भनेका थिए। उनीहरूबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो। उपाध्यक्ष सुमारले नेता नेपाललाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन्।

प्रकाशित: २५ भाद्र २०७८ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App