४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिसस प्रमुखसहित ११ जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

खोटाङमा नेकपा एमालेबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। दल रोज्नका लागि निर्वाचन आयोगले दिएको अन्तिम दिन आइपुग्दा जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला समन्वय समितिका दुई सदस्य, एक वडाध्यक्ष र सात वडासदस्यले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका हुन्। नेकपा एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि मंगलबारसम्मको समय सीमा दिएको थियो।  

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका हुन्।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडा सदस्य हरिबहादुर राई, केपिलासगढी गाउँपालिका–३ बासपानीका शिवकुमार राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडा सदस्य रामकुमार बस्नेतले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नयाँ दल रोजेका हुन्।  

गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ३६ वडाध्यक्षमध्ये एक जना मात्र नेकपा (एकीकृत समाजवादी)मा लागेका हुन्। एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख एमालेमै रहेका छन्। स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो। प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र प्रदेशसभा सांसद उषाकला राई एमालेमै रहँदा प्रदेशसभा सदस्य राजन राईले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

चाम्लिङ एमालेको जिल्ला अध्यक्ष छाडेर नेकपा (एकीकृत समाजवादी)को नेतृत्व सम्हाल्न पुगेका छन्। एमालेको २०७२ सालमा सम्पन्न अधिबेसनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य आफ्नो पार्टीमा लागेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव जलसेर राईले बताए। 

प्रकाशित: २२ भाद्र २०७८ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App