१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशः १३ सांसदले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत

सुदूरपश्चिम प्रदेश सभाका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्। भदौ १५ गते १० सांसदले सनाखत गरेका थिए भने आइतबार भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र पूर्व प्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालयमा गएर सनाखत गरेका हुन्।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्री चुनकुमारी चौधरी, र मनाकुमारी साउँद, पूर्व मन्त्री माया भट्ट, एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र शुसिला बुढाथोकीले सनाखत गरेका थिए।

नेकपा एमालेका सभामुखसहित २५ प्रदेश सभा सदस्य थिए। ती मध्य पठानसिंह बोहरा, लिलाधर भट्ट, मायालु चौधरी, रतन थापा, बलदेव रेग्मी, माया तामाङ बाेहरा र ग्याल्वुसिंह बाेहरा  गरि ७ सासंद यसअघि ओली पक्षमा उभिएका थिए। प्रभावशाली मानिएका नेता भीम रावलकै निकट मानिएका १३ सांसदले उनको साथ छोड्दै नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्।

विगतमा माधव समुहमा रहेका एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व मन्त्री कृष्णराज सुवेदी, प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर भने नेता रावललाई साथ दिँदै एमालेमै रहने निर्णय गरेका छन्। यसअघि नेकपा एकीकृत समाजवादीमा खुलेको भनिएकी राज्यमन्त्री अर्चना गहतराज पनि एमालेकै रहने संकेत गरेकी छन्।

उनी निकटका १३ सांसदले साथ छोडेपछि  यसअघि प्रदेश सभामा दह्रो पकड भएका नेता भीम रावललाई धक्का लागेको छ। रावलकै रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने गर्थे। भने एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहाना बमोजिम हुन्थ्यो। प्रदेश सभामा दह्रो पकड रहेकाले प्रदेश सरकारका काम कारबाही पनि उनकै निर्देशनमा प्रभावित हुने गरेका थिए।

एमालेका अध्यक्ष केपी शर्मा माओलीको कटु आलोचक रहेका रावलले अन्तिम अवस्थामा माधवको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि निकटका १३ सासंदले उनको साथ छोडेका हुन्।  

रावलकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारमा  नेकपा एमाले स्थायी कमिटीको निर्देशन विपरित माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ जना सासंदले विश्वासको मत दिएका थिए।

नेकपा एमाले स्थायी कमिटीको बैठकले जेठ १० गते प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय विपरित रावलकै निर्देशनमा जेठ १२ गते नेकपा एमाले प्रदेश सभा संसदीय दलको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको थियो। भने जेठ १४ गते एमालेका २ मन्त्री फिर्ता बाेलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो। 

सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जसपाका २ सासंद थिए। १३ जना सासंद नेकपा एकीकृत समाजवादी गएसँगै माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) को १३ बरावर संख्या पुगेको छ। 

प्रकाशित: २० भाद्र २०७८ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App