७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस वडा अधिवेशनः खोटाङका ४५ वडामा सर्वसहमत, ११ वडामा चुनाव

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खोटाङको ११ वडामा नेतृत्व चयनका लागि चुनावी प्रकृया अघि बढेको छ। 

शुक्रबार उद्घाटन गरिएको वडा अधिवेशन अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र निर्मलीडाँडा, केपिलासगढी गाउँपालिकाको सुंदेल र बाक्सिला, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे र टेम्मामा कांग्रेसको वडा समिति निर्माणका लागि मतदानको प्रकृया अघि बढेको हो। 

कतिपय वडाको मतदानको परिणाम आइसकेको र कतिपयको परिणाम आउन बाँकी रहेको कांग्रेसले जनाएको छ। केपिलासगढी गाउँपालिकाको सुंदेलमा मतदानका माध्यमबाट इच्छाबहादुर पौडेल वडा सभापतिमा विजयी भएको कांग्रेसका संगठन विभाग प्रमुख समिर राईले बताए।  

चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि निर्मलीडाँडाको वडा अधिवेशन स्थगित गरिएको हो। वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमति गरेर वडा अधिवेशन स्थगित गरिएको सूचना टाँस गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए। निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन्। 

विवादपछि सहमति गर्न भनिए पनि सहमति नजुटेपछि वडा अधिवेशन स्थगित गरिएको हो। दुई उम्मेद्वारबीचको पुरानो मतभेद तथा तुषको विषयले उम्मेद्वारी मनोनयनका क्रममा विवाद निम्तिएको कांग्रेस श्रोतले बताएको छ।  

दिप्रुङः ७ मध्ये ५ वडामा चुनाव  

७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी र सछितापोखरी बाहेकका वडामा चुनावी प्रकृया अघि बढेको छ। गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको वडा याम्खामै घम्साघम्सी चुनावी प्रकृया अघि बढेको हो। याम्खामा नेत्रकुमार राई र रामचन्द्र राई वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन्। 

यस्तै, भूपेन्द्र राई र नइन्द्र राई लगायत क्षेत्रीय प्रतिनिधिमा उठेका छन्। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये करिब ४५ वडाको नेतृत्व सर्वसहमत चयन भएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए। ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा पाँच जना क्रियाशील सदस्यको विषयमा भएको विवादका बीच वडा कार्य समिति बनेको छ।  

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा भने सर्वसहमतीय ढंगले वडा कार्य समिति चयनको प्रकृया अघि बढेको कांग्रेसले जनाएको छ। खोटाङमा कांग्रेसको ६ हजार ८०० क्रियाशील सदस्य छन्। कांग्रेसको वडा अभिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ।  

कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ।

प्रकाशित: १८ भाद्र २०७८ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App