coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ का मुख्यमन्त्री आचार्य अल्पमतमा : राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य अल्पमतमा परेका छन्। नेकपा एमाले छाडेर प्रदेश १ का १०  जना सांसदले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेसँगै आचार्य अल्पमतमा परेका हुन्।

प्रदेश १ मा नेपका एमालेका तर्फबाट एकल बहुमतका आधारमा आचार्य मुख्यमन्त्री बनेका थिए। आफ्नै पार्टीका १० जना सांसदले साथ छाडेपछि आचार्य सरकार ढल्ने निश्चित भएको छ। गत शुक्रबारमात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार एक साता नपुग्दै अल्पमतमा परेको छ।  बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा एमालेका १० जना सांसदहरूले नयाँ पार्टी रोजेको सनाखत गरिसकेका छन्। नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने सांसदहरूमा भोजपुरका राजेन्द्रकुमार  राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ छन्। १० जना सांसदले नयाँ दल रोजीसकेका कारण मुख्यमन्त्री आचार्य अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिन नयाँ दल रोजेका सांसद राजेन्द्रकुमार राईले सुझाव दिए।

उनले भने ‘मुख्यमन्त्री अल्पमतमा परिसकेका कारण नैतिकताका आधारमा राजीनामा दिनु राम्रो हुन्छ।’ राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव ल्याएर आचार्यलाई हटाइने सांसद राईले चेतावनी दिए। बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी रोजेको सनाखतपछि पत्रकारहरूसँग कुरा गर्दै राईले मुख्यमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाइने चेतावनी दिएका हुन्। उनले भने ‘अल्पमतमा परिसकेर पनि राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउँछौं।’ राईले  बुधबार १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको भए पनि अझै केही सांसद नेकपा एमाले छाडेर नयाँ पार्टीमा आउने दाबी गरे। ‘५/७ जना सांसदसँग कुरा भइरहेको छ’ राईले भने ‘थप केही सांसद चाँडै नयाँ पार्टीमा आउनु हुनेछ’।

प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन्। जसमध्ये १० जनाले एमाले छाडेसँगै नेकपा एमालेमा ४१ जना मात्रै सांसद रहेका छन्। यता विपक्षी गठबन्धनमा आबद्ध तीन दलहरू नेपाली  काँग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, नेकपा (एकीकृत समाजवादी)को १० र जनता समाजवादी पार्टीका ३ जना सांसद छन्। यस्तै दुई साना दलका २ जना सांसद छन्। प्रदेश १ मा विपक्षी गठबन्धनको पक्षमा स्पष्ट बहुमत देखिएको छ। प्रदेश १ मा बहुमतका लागि ४७ जना सांसदको समर्थन  आबश्यक पर्छ।

प्रकाशित: १६ भाद्र २०७८ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App