७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले सिध्याउनतर्फ नलाग्न नेकपा(एस) अध्यक्ष नेपाललाई सुझाव

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो विचार समूहसँग सल्लाह नगरेरै माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेको बताएका छन्। उनले तत्कालीन अवस्थामा समानान्तर कमिटी रहेको स्मरण गर्दै आफ्नो विचार मिल्ने समूहसँग छलफल नगरेरै नेपालले नयाँ पार्टी दर्ता गराएको बताए। ‘आफ्नो विचार समूहको बैठक बसालेको भए हामी विभाजन रोक्थ्यौं,’ उनले भने, ‘सायद उहाँ (नेपाल) ले ठान्नु भयो होला, बैठक बसालेको भए दश जनाले रोक्न खोज्नेछन्, त्यसैले उहाँले जानकारीविनै नयाँ दल दर्ता गर्न हामफाल्नु भयो।’

उपाध्यक्ष ज्ञवालीले आफूहरुले नेपाललाई नभएर नेपालले आफूहरुलाई छोडेको गुनासो गरे। ‘नयाँ पार्टी दर्ता गर्न नेपाल आफै जानुभयो,’ उनले भने, ‘त्यसैले हामीले उहाँलाई नभएर उहाँले हामीहरुलाई छोड्नु भएको हो ।’ उनले नयाँ दल दर्ता गर्ने सुइको पाएपछि आफुले नेपाललाई फोन गरेको खुलासा गरे।  

‘नयाँ पार्टी दर्ता गर्ने जानकारीमा आएपछि मैले फोन गरेर सोधेको थिएँ,’ उनले भने, ‘उहाँले हो भन्नुभयो।’ उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटी बैठक राख्न र छलफलको निर्णयको आधारमा अघि बढौंला भन्दा पनि नेपालले नमानेको बताए। उपाध्यक्ष ज्ञवालीले नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर बस्न नचाहेको बताए। उनले अर्को वाम मोर्चा बनाएर एमालेलाई सिध्याउनतर्फ नलाग्न पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई सुझाव दिए। ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्,’ उनले भने, ‘एमालेलाई त सिध्याउनुहोला तर, तपाईँहरुले पनि जित्नुहुन्न।’

एमाले उपाध्यक्ष ज्ञावलीले एमाले फुटाउनमा सभामुख अग्नीप्रसाद सापकोटाले भूमिका खेलेको आरोप पनि लगाए। एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संवैधानिक जिम्मेवारीमा रहेका सभामुखले एमाले फुटाउन सहयोगीको भूमिका निर्वाह गरेको बताउँदै यसको एमालेले सधैं प्रतिकार गर्ने बताए।  

प्रकाशित: १५ भाद्र २०७८ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App