जनता समाजवादी पार्टीको विभाजन नभई शुद्धीकरण भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। ‘पार्टी एकढिक्का छ, केही लोभीहरूलाई शुद्धीकरण गरिएको छ,’ उनले भने। शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष यादवले केही व्यक्ति पार्टीबाट अलग हुँदैमा विभाजन भनिहाल्न नमिल्ने तर्क गरे। उनले भने, ‘लोभीपापीको झुन्ड अलग भएपछि जसपा शुद्ध भएको छ।’
पार्टीको निर्णय नमान्ने, आफैंले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरूको झुन्डले देश र मधेसको भलो गर्न नसक्ने उनको भनाइ थियो। ‘८० प्रतिशत नेताकार्यकर्ता मूल पार्टी जसपामै छन्,’ उनले भने। लोसपा अध्यक्ष महन्थ ठाकुरलाई लक्ष्य गर्दै यादवले टिप्पणी गरे, ‘दलदलमा भासिन लागेकाहरूलाई सरकारले अध्यादेश ल्याएर उद्धार गरेको छ। प्रतिगमनविरुद्धको आन्दोलन छाडेर केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार बन्न पुगेकाहरू दलदलमा फसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको यादवले बताए।
महन्थ ठाकुर एन्ड कम्पनी लोकतन्त्र समाप्त गरी स्वेच्छाचारी ढंगबाट एउटै संसद् दुईपटक भंग गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप अध्यक्ष यादवको थियो। ‘त्रुटिपूर्ण र गलत संविधान संशोधनका लागि सडक र सदनबाट संघर्ष भइरहेको छ,’ यादवले भने, ‘हाम्रो प्रयास संविधानको सकारात्मक पक्षको रक्षा गरी त्रुटिलाई संशोधन गर्नु हो।’
आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसंख्याका आधारमा समानुपातिक समावेशी, सामाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालीको सवालमा संविधान संशोधन आवश्यक रहेको यादवले बताए। अध्यक्ष यादवले संविधान संशोधन गरी संघीयता र समावेशिता सच्याउने लक्ष्यसाथ अघि बढेको पनि बताएका छन्। उनले भने, ‘देशका सबै जातिको समानुपातिक र समावेशी अधिकार प्रदान गर्ने लक्ष्य छ।’
यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै नेपालको भविष्य भएको बताए। ‘जनताको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न खोज्ने प्रतिगमनकारी शक्ति अझै विद्यमान रहेकाले सतर्क र सचेत रहनुपर्छ,’ उनले भने, ‘मुलुकमा अहिलेसम्म भएका हरेक आन्दोलनले परिवर्तन ल्याउँछ। तर, त्यो संस्थागत हुन सकिरहेको छैन। किनकि, हरेक आन्दोलनले प्राप्त गरेको उपलब्धि उल्ट्याउने प्रतिगमनकारी शक्ति रहिरहन्छ।’ अध्यक्ष यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा केपी ओलीको सहयोगी बन्न पुगेको टिप्पणी गरे।
मधेस प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा जसपाका नेताहरू अशोक राई, महेन्द्रराय यादव, मृगेन्द्र सिंह यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत नेताहरूले पार्टीका कार्यकर्तालाई सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्तालाई संगठन कसिलो, व्यवस्थित र सुदृढ बनाउन आग्रह गरेका थिए।
प्रकाशित: १२ भाद्र २०७८ ०१:३३ शनिबार