१६ चैत्र २०८० शुक्रबार
राजनीति

इलामका झलनाथ खनालनिकट नेता भन्छन्ः एमाले नै एकढिक्का हुनुपर्छ

तस्बिरहरू : भीम/नागरिक

केन्द्रमा नेकपा (एमाले) विभाजनको अवस्थामा पुगेपछि पार्टीका नेता–कार्यकर्तासमेत धमाधम आफ्नो ‘कित्ता’ स्पष्ट गर्दैछन्। तर, जिल्लामा केही दिनअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेता–कार्यकर्ता चाहिँ माधवकुमार नेपालले नयाँ दल दर्ताकप्रक्रिया सुरु गरेपछि ‘छलफल’मा मात्र जुट्दैछन्। र, आफू कुन कित्तामा रहने भन्नेमा खुलिसकेका छैनन्।

जिल्लाका केही प्रभावशाली नेता–कार्यकर्ता अध्यक्ष ओलीभन्दा फरक कित्तामा रहेपनि स्पष्ट रूपमा नेपालनिकट पनि होइनन्। ओलीसँग नजिक नरहेका उनीहरू गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट चाहिँ हुन्। पार्टीमा विभाजनको संकेत देखिएपछि उनीहरू निरन्तर खनालसँगै सम्पर्कमा छन्। खनालले नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत–समाजवादी)लाई आफ्नो समर्थन रहेको बताइसकेका छन्। र, पार्टी पुनर्गठनको विकल्प नरहेको पनि खनालले स्पष्ट बताइसकेका छन्।  

तर, खनालसँग निकै नजिक मानिएका जिल्ला तहका नेता र स्थानीय तहका प्रमुख/अध्यक्ष भने खनालजसरी खुलेर आफ्नो धारणा राख्दैनन्। उनीहरू आफू पार्टी विभाजनको पक्षमा नरहेको र पार्टीभित्रै संघर्ष गरेर अघि बढ्ने खनालको भन्दा फरक धारणा चाहिँ बिस्तारै सार्वजनिक गर्दैछन्। खनालले एकताको प्रयास गरिरहेका पार्टीको दोस्रो तहका नेतालाई समेत पुनर्गठनमै होमिन आग्रह गरेका बेला जिल्लाका खनालनिकट नेता चाहिँ दोस्रो तहका नेताले पार्टीलाई एकताको सूत्रमा बाँध्ने र आफूहरू एमालेमै रहेर संघर्ष गर्ने बताउँदैछन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुअघि तत्कालीन एमालेको जिल्ला कमिटी उपाध्यक्ष रहेका भक्त केसी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध लागे। जिल्लामा माधव नेपाल समूहको जिल्लास्तरीय कमिटी गठन हुँदा केसी त्यसको अध्यक्ष भए। ओलीको कदमविरुद्ध भएका आन्दोलनको नेतृत्व उनैले गरे।  

केसी खनालका विश्वासपात्र हुन्। तर, उनी आफू ओलीको ‘रबैया’विरुद्ध रहेपनि पार्टी विभाजन नै अन्तिम विकल्प नभएको बताउँछन्। ‘हाम्रो विचार समूहले पार्टी एकता र विभाजनबारे स्पष्ट धारणा बनाउन बाँकी नै छ,’ उनले भने, ‘आज (शनिबार) छलफल बसेर साँझसम्ममा हाम्रो समूहको स्पष्ट धारणा बाहिर ल्याउँछौं।’ केसीले पार्टीमा वर्तमान नेतृत्वकै कारण कम्युनिस्ट आचरण समाप्त हुँदै गएको, व्यक्तिवाद र अहंकारले जनताको आधारभूत आवश्यकता नै ओझेलमा पार्ने अवस्था आएको बताए। ‘पार्टीमा बिखण्डन ल्याउनुको मुख्य जिम्मेवार अध्यक्ष ओली नै हुन्,’ उनले भने, ‘ओली सुध्रिनुपर्छ, दोस्रो तहका नेताहरू लाग्नुभएको छ, पार्टीलाई अझै पनि एक बनाउनुहुन्छ भन्ने आशा छ।’

खनालनिकट मानिने १ नम्बर प्रदेशसभा सदस्य खिनु लङ्वाले अहिले नै आफ्नो धारणा दिन नमिल्ने बताइन्। ‘मैले व्यक्तिगत रूपमा यो कित्तामा छु भनेर धारणा राख्ने बेला आएको छैन,’ उनले भनिन्, ‘पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याउने काम अध्यक्ष ओलीले गरेका हुन्, अझैपनि समय छ, पार्टीलाई एक बनाउने कि विभाजन गर्ने भन्ने जिम्मा ओलीकै भूमिकामा निर्भर रहन्छ।’ उनले पार्टीलाई एकताबद्ध बनाउनु आवश्यक भएको भन्दै विभाजनभन्दा एकतालाई नै आफूले प्राथमिकता दिएको बताइन्।  

खनाललाई इलामबाट पटक–पटक चुनाव जिताएर पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका २ नेता हुन्–सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राई र सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई। आफ्नो स्थानीय तहमा समेत लोकप्रिय मत ल्याएर विजयी भएका दुवै नेता आफूले गरेका कामबाट धेरै सर्वसाधारणको प्रशंसासमेत बटुलिरहका छन्।  

तर, माधव नेपालले नयाँ दल दर्ता गर्ने प्रक्रिया अघि बढाएपछि राईद्वयले नेपालकै समर्थन गरेका छैनन्। उनीहरू अझै पार्टीलाई एक बनाएर अघि बढ्नुपर्ने धारणा राख्छन्। सन्दकपुर अध्यक्ष उदयबहादुरले चाहिँ आफू नयाँ दलको पक्षमा रहँदै नरहेको बताए। ‘अध्यक्ष ओलीले पार्टीलाई धुलिसात बनाए, नवौं महाधिवेशनको निर्देशनविपरित व्यक्तिगत स्वेच्छाचारितामा लगेर विभाजनको अवस्थामा पुर्‍याए,’ उनले भने, ‘तर, ओलीले त्यसो गरे भन्दैमा पार्टी चोइट्याएर जानुहुँदैन, पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्छ। पार्टी सुधार्नुपर्छ, विभाजन गर्ने होइन।’ राईले पार्टीका दोस्रो तहका नेताले एमालेलाई एक बनाएर लैजानेमा आफू ढुक्क रहेको बताए। ‘नेताहरूलाई सद्बुद्धि आओस्, १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ। पार्टी फुटाउनु हुन्न,’ उनले भने, ‘सबैले आफ्नो अहंकार र आफ्नो खराबी त्याग्नुपर्छ।’

सूर्याेदयका मेयर रणबहादुरले आफू सधैं पार्टी संगठन बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। ‘पार्टी एक रहनुपर्छ र दुवै पक्षले १० बुँदै सहमति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘सहमतिले नै सबैको हित हुन्छ।’ खनालनिकट नै रहेका माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले संविधानमाथि प्रहार गर्नेको पक्षमा आफू नरहेपनि पार्टी एक हुनुपर्छ भन्नेमा अडिग रहेको बताए। ‘म केपी ओली प्रवृत्ति र ओली एमालेको चाहिँ विपक्षमा छु,’ उनले भने, ‘तर, पार्टी फुट्नुहुँदैन। सबै एक भएर अघि बढ्नुपर्छ।’  

माओवादी र एमाले एकीकृत हुँदाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको फैसलाले विभक्त बनाएपछि जिल्लाका खनालनिकट नेता–कार्यकर्ता ओलीविरुद्ध आन्दोलनमा थिए। त्यतिबेला पार्टी जिल्ला कमिटी उपाध्यक्ष केसीसहित प्रदेशसभा सदस्य खिनु लङ्वा, सूर्याेदयका मेयर रणबहादुर राई, सन्दकपुरका अध्यक्ष उदय राई, माईजोगमाईका अध्यक्ष जितबहादुर राई, पूर्वसांसद मणिकुमार लिम्बू तथा एमालेका पुराना नेता टेकबहादुर राईलगायतले ओलीलाई समर्थन गरेनन्।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ ओलीनिकट छन्। प्रदेशसभा सदस्य तथा पार्टी जिल्ला अध्यक्ष रामबहादुर राना, प्रदेशसभा सदस्य काजीमान कागते र जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले ओलीलाई नै समर्थन गरे। इलाम नगर प्रमुख महेश बस्नेत, उपप्रमुख सुशीला नेम्बाङ, देउमाई नगर प्रमुख सूर्य पोख्रेल, उपप्रमुख पविमाया राई तथा माई नगर प्रमुख दीपक थेबे र उपप्रमुख विष्णुमाया आचार्य ओलीनिकट मानिन्छन्।  

जिसस उपप्रमुख चित्रकला बराइली, सूर्याेदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, माईजोगमाई गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराई, सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरु राई तथा माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता योङहाङ पनि ओलीनिकट मानिन्छन्।

प्रकाशित: ५ भाद्र २०७८ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App