१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले विभाजनको असर: बाँकेमा तीन जना केन्द्रीय सदस्य माधव समूहमा, तीन सांसद ओलीतिर

दुबै समूहमा कार्यकर्ता तानातान

नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एमाले(समाजवादी) दर्ता गरेको माधवकुमार नेपाल समूहमा बाँकेबाट प्रतिनिधित्व गर्ने तीन जना केन्द्रिय सदस्य गएका छन्। साविक एमालेको महाधिवेशनबाट निर्वाचित भएकी केन्द्रिय सदस्य गौरा प्रसाई (कोईराला) सहित दलबहादुर सुनार र गोविन्द कोईराला एमाले (समाजवादी)तिर गएका हुन्।

साविक एमालेमा बाँकेबाट पाँच जना केन्द्रिय सदस्यले प्रतिनिधित्व गर्दै आएका थिए। त्यस मध्ये मो.हारुन हल्वाई मात्र केपी ओली नेतृत्वको नेकपा एमालेमा छन्। अर्का एक जना केन्द्रिय सदस्य दिनेशचन्द्र यादवको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ। बाँकेबाट प्रतिनिधित्व गर्दै नेतृ प्रसाई नेकपा एमालेको विभिन्न जिम्मेवारीमा थिईन्। यस्तै पुर्व सिचाइँ राज्यमन्त्री तथा पुर्वसांसद सुनार र कोईराला केन्द्रिय सदस्य तथा केन्द्रिय सल्लाहकार कमिटी सदस्यको जिम्मेवारीमा थिए। केपी ओली पार्टीको नेतृत्वमा आएपछि आफुहरुलाई पार्टीभित्र काम गर्न नदिइएको र हरेक अवसरबाट बञ्चित गरेको उनीहरुको गुनासो थियो। ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका उनीहरु नेपाल समुहका गतिविधीमा विगतदेखी नै सहभागी हुदै आएका थिए।

नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष अशोक कोईराला पनि नेपाल समुहमा गएका छन्। सोही अधिवेशनबाट निर्वाचित भएका उपाध्यक्ष निरक गुरुङ र सचिव रत्न खत्री तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडाअध्यक्ष प्रमोद रिजाल विगतमा नेपाल समुहमा रहेपनि पार्टी विभाजनपछि कतै खुलेका छैनन्। बाँकेबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभाका ३ जना सांसद भने ओली समुहमा छन्। एमालेले बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्र मध्ये एउटा मात्र क्षेत्रमा सांसद जितेको थियो।

क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सांसद नन्दलाल रोकाय ओली समुहमा छन्। यस्तै प्रदेश सभामा नेकपा एमालेले दुई वटा सिट जितेको थियो। प्रदेश सभा १(ख)का सांसद आरती पौडेल र प्रदेश सभा ३(ख)का बाबुराम गौतम पनि ओली समुहमै बसेका छन्। नेपालगन्जका पुर्वउपमेयर, प्रतिनिधि सभा र मेयरका उम्मेदवार भईसकेका एमाले नेता समसुद्धिन सिद्धिकी, युवा संघका केन्द्रिय सचिव दिपक जि.एम, जिल्ला अध्यक्ष किशोर थापा, पार्टीका सचिवालय सदस्य अब्दुल हुसेन खाँ, एमाले अनुसाशन आयोगका जिल्ला अध्यक्ष लालबहादुर खत्री लगायत नेताहरु एमाले(समाजवादी) तिर गएका छन्।  एमाले(समाजवादी)का जिल्ला अध्यक्ष अशोक कोईरालाले बाँकेमा माधव समुह धेरै बलियो रहेको दाबी गरे। 

‘कम्युनिष्ट आन्दोलनको रक्षा र अन्यायविरुद्ध लड्ने तमाम ब्यक्तिहरु माधव नेपाल समुहमा छौं, म पनि सानैदेखी अन्याय, अत्याचार र गलत कार्यविरुद्ध लड्न सिकेको हुनाले माधव समुहमा लागेको हुँ,’ उनले भने। बाँकेबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य पाँच जना मध्ये तीन जना माधव समुहमा रहेको, एक जनाको मृत्यु भईसकेको र अर्का एक जना मात्र केपी समुहमा रहेको कोईरालाले सुनाए। पार्टीको सातौं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी ७५ सदस्यीय रहेकोमा केहीले पार्टी छाडिसकेको, केहीको मृत्यु भएको र त्यसमध्ये ३५ जना बहुमत सदस्य आफुहरुसँग रहेको दाबी गरे।  यस्तै १७ सदस्यीय सचिवालयमा १० जना आफुहरुसँग रहेको कोईरालाको भनाई छ। 

‘केपी ओलीले सत्ताको दुरुपयोग गरेर मनपरी गरे, त्यसैको परिणाम स्वरुप नयाँ दल बनेको हो, अब हामी सबै कार्यकर्तालाई एमाले(समाजवादी)भित्र समेट्छौं,’ उनले थपे। माधव समुहले यसअघि नै ३ सय ८१ सदस्यीय जिल्ला कमिटी गठन गरिसकेको बताए। कोईरालाले भने, ‘म पार्टीको अधिवेशनबाट निर्वाचित भएको एमालेको जिल्ला अध्यक्ष हुँ, त्यसकारण म सबै कार्यकर्ताको साझा ब्यक्ति हुँ, अब सबै कार्यकर्तालाई एमाले समाजवादीभित्र गोलबद्ध गर्नेछु।’ पार्टी फुटेपछि दुबै समुहले नेता, कार्यकर्तालाई तानातान गरिरहेका छन्। तर कतिपय कार्यकर्ता अन्यौलमा देखिन्छन्, भने केही नेता कार्यकर्ता तटस्थ देखिन्छन्।

नेकपा एमाले(ओली समुह)का जिल्ला अध्यक्ष सुर्य ढकालले बाँकेमा फुटको प्रभाव खासै नपरेको दावी गरे। ‘पार्टी फुट्नु आफैमा नराम्रो कुरा हो, तर माधव नेपाल समुह अलग भएपनि बाँकेमा फुटको प्रभाव खासै परेको छैन,’ उनले भने। साविक जिल्ला कमिटीमा १६ जना मात्र माधव समुहमा गएको अध्यक्ष ढकालले जिकिर गरे। जिल्लाका ८१ वटा वडा कमिटी मध्ये ७१ आफुतिर र १० वटा मात्र माधव समुहमा रहेको उनको दाबी छ। यस्तै १९ जनवर्गिय संगठन मध्ये ३ वटा मात्र माधव समुहतिर गएको बताए। लुम्बिनी प्रदेश कमिटीमा रहेका ७ मध्ये माधवतिर १ जना, जिल्लाका ३१ जना जनप्रतिनिधी मध्ये २९ जना ओली समुहमा रहेको दाबी गरे। उनले थपे, ‘नेकपा एमाले हामी मुल धारमै छौं, पार्टी फुटेर एमालेलाई खासै असर गर्दैन।’  

प्रकाशित: ३ भाद्र २०७८ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App