१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अध्यादेश आशंकाले एमालेमा तरंग

संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्। पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजनविरुद्ध उभिन अपिल गरेका छन्। उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।

साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन्। स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।  

उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन्। उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन्। ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आआफ्नो तहमा दबाब दिनेगरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने।

हाल कायम राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यकारी व्यवस्था छ। दुवै ठाउँमा ४० प्रतिशत नपुगेमा दल त्याग गरेको हुने व्यवस्था छ। यो व्यवस्थाले नेपाल पक्षलाई एमाले विभाजनका लागि रोकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ।

सरकारले संसद्को चालु अधिवेशनमै बजेट पास गराउनुपर्नेमा एमालेमा देखिएको विवादलाई ध्यान दिएर अधिवेशन टुंग्याएको छ। एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको आशंका गरेको छ। ‘ओली पक्षले विभाजनको तयारी गरेको छ त्यसकारण बढी शंका गरेको हो। अध्यादेश आए पनि हामी अन्तिमसम्म पार्टी एकताकै पक्षमा छौं’,नेपाल निकट एक नेताले भने। उनका अनुसार ओलीले एकताका लागि वातावरण बनाउनुभन्दा पनि विधान संशोधन प्रस्ताव अघि सारेर एकताको ढोका नै बन्द गरेका छन्।

नेता नेपाललाई बराबरी अधिकार दिन नमानेपछि एमाले विभाजनको संघारमा पुगेको छ। ओलीले एकतर्फी रूपले महाधिवेशनको तयारी अघि बढाएपछि चिढिएका नेता नेपालले आफू पक्षधर नेतालाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै नयाँ परिस्थितिको सामना गर्न निर्देशन दिइसकेका छन्।

नेपाल नयाँ पार्टी गठनको तयारीमा रहेको स्रोतले दाबी गरेको छ। यसबारे स्वयं नेपालले भने केही पनि बताएका छैनन्। पार्टी विभाजन गर्ने नेपालको तयारी र सरकारले संसद् अधिवेशन पनि अन्त्य गरेपछि ओली पक्ष राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने भन्दै आवश्यक रणनीति बनाउन लागि परेको छ।

ओली पक्षधर केही नेताले पार्टी विभाजन हुन नदिन अध्यक्षलाई दबाब दिइरहेका छन्। पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, खगराज अधिकारी, खिमलाल भट्टराईलगायतले पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिइरहेका छन्। एमाले विवाद समाधान कार्यदलमा रहेका नेताहरूले पनि पार्टी एकता कायम राख्न जोड दिइरहेका छन्। ओली र नेपाल पक्षका केन्द्रीय सदस्यहरूले दुवै तर्फबाट कार्यदलमा सहभागी नेताहरूलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका छन्। नेपाल पक्षका केन्द्रीय सदस्यहरू यज्ञराज सुनुवार, झपट रावल, सोमप्रसाद पाण्डे, जयकुमार राई, दीपक भट्ट, राजबहादुर बुढालगायतले पनि पार्टी एकताका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको कार्यदलका सदस्यहरूलाई बताएका छन्। 

प्रकाशित: १ भाद्र २०७८ ००:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App