चितवनको राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना स्थानीय घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।
आइतबार बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणमा परी अधिकारीको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको र आक्रमणबाट गाई सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
बस्तीमै बाघ देखिएपछि स्थानीयमा त्रास बढेको थियो। बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो। टोलीले खोजतलास तथा नियन्त्रण अभियान सञ्चालन गर्ने क्रममा आज बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिएको हो।
प्रकाशित: ३१ श्रावण २०८३ १२:३१ आइतबार





-600x400.jpg)