१६ चैत्र २०८० शुक्रबार
राजनीति

ठूलो शक्ति बन्ने दाहालको दाबी

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ’, दाहालको प्रतिवेदनमा उल्लेख छ।

बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा दाहालले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तर्क गरेका थिए। उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारका रूपमा व्याख्या गरेका छन्। प्रतिवेदनमा दाहालले पार्टीको राजनीतिक वैचारिक धार परिवर्तन गर्नेसमेत उल्लेख गरेका छन्। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै आगामी निर्वाचनसम्म राजनीतिक वैचारिक धार बलियो बनाउने प्रतिवेदनमा उल्लेख छ। 

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको समेत औंल्याएका छन्। स्तान्तरण गर्न बाँकी रहेको उनले बताएका छन्। ‘बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भयो, सात प्रदेश र प्रवास गरी आठ प्रदेशका केन्द्रीय सदस्यहरूबीच समूहगत रूपमा छलफल गरी सुझाव दिने कार्यक्रम छ’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। उनका अनुसार अध्यक्ष दाहालले अहिलेको राजनीतिक परिस्थिति र सरकार सञ्चालनबारे धारणा राख्दै प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा माओवादी नेतृत्वले मुलुकको राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको दाबी पनि गरिएको छ। अब उसले यसलाई संगठनात्मक शक्तिका रूपमा रूपान्तरण गर्ने सोच बनाएको छ। ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ। त्यसैले अब परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादीले लिनुपर्छ,’ दाहाललाई उद्धृत गर्दै बस्नेतले भने। दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको भन्दै गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम पनि आफ्नो पार्टीले नै गरेको दाबी गरेका छन्।  

दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्। 

प्रतिवेदन पेस गर्दै उनले बलियो भएका छौं भनेर ढुक्क हुन भने नमिल्ने बताए। ‘बलियो छौं भनेर ढुक्क हुने स्थिति छैन। परिवर्तन उल्ट्याउन खोज्ने तत्वले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन्, हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ। प्रतिगमनलाई परास्त गर्ने र रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनु हुँदैन, प्रतिगमन रोक्ने यात्रा अघि बढाउनु छ। साथसाथै अभियानकै रूपमा संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ’, प्रतिवेदनमा उल्लेख छ।  

दाहालले माओवादी केन्द्रमा वैचारिक समस्या कम रहेको दाबी पनि गरे। ‘हाम्रो पार्टीमा निर्णय गरिसकेपछि नमान्ने भन्ने छैन, हिजो गठबन्धनका नेताहरूको बैठकमा पनि कुरा चल्यो, बाहिरबाट हेर्दा सबैभन्दा मिलेको पार्टी माओवादी नै हो’, उनले भने। दाहालले नेकपाको विगत तीनवर्षे कार्यकालको पनि समीक्षा गरे। नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै वैचारिक संघर्ष गरेको दाबी उनको छ। 

‘हामीले अलि ठूलो सपना देख्यौं। वाम एकता गर्ने, देशको नेतृत्व कम्युनिस्ट पार्टीले लिने, समाजवादको आधार तयार पार्ने सपना हामीले देख्यौं र पहल पनि गर्‍यौं। बहुमतको सरकार बनेपछि देशमा अब केही हुन्छ र हाम्रो दिन फिर्छ भनेर जनताले आशा पनि गरेका थिए। उत्साहको वातावरण बनेको थियो तर ओलीका कारण सबै भताभुंग भयो’, दाहालले प्रतिवेदन पेस गर्दै भने।  

बहुचर्चित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रति दाहाल नरम देखिएका छन्। प्रतिवेदनमा उनले एमसिसी कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। आठ पृष्ठको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा एमसिसी तथा भारतीय सीमा क्षेत्रहरू लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक तवरबाट अघि बढाने उल्लेख छ। माओवादी केन्द्रमा देव गुरुङ, लिलामणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाललगायतका नेताहरू एमसिसीको चर्को विरोधी हुन्। माओवादी केन्द्रबाट अहिले भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन्।  

प्रतिवेदनमा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणसहित टोल भेला, वडा, गाउँपालिका तथा नगरपालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय भेलासम्म गर्ने उल्लेख छ। आगामी पुसा ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय भेलामार्फत पार्टीको कार्य दिशालाई थप सशक्त बनाउने प्रतिवेदनमा भनिएको छ। दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी माओवादीले सबै तहमा जनताको भावनानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कामलाई जनताको भावनाअनुसार थप प्रभावकारी र व्यवस्थित बनाइनेछ। संघीय सरकारको साझा नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ,’ प्रतिवेदनमा लेखिएको छ, ‘संयुक्त सरकारमा पार्टीले आफ्नो स्वतन्त्र पहिचान र भूमिका स्थापित गर्ने सबाललाई विशेष महत्व दिनुपर्नेछ।’ आयोग विभाग र निकायलाई गतिशील बनाइनेछ।’

प्रकाशित: ३१ श्रावण २०७८ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App