४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले गण्डकीले बनायो छाँया सरकार

नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छाँया सरकार बनाएको हो । तर एमालेले भने यसलाई छाँया सरकार नभई संसदीय समूह भनेर परिभाषित गरेको छ ।

गण्डकी प्रदेशमा रहेका ११ वटा मन्त्रालयलाई आधार बनाएर नौवटा समूह बनाएर त्यसको संयोजक र सदस्य तोकेको एमालेले जनाएको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबारको बैठकले नौवटा संसदीय समूह बनाएको एमाले संसदीय दल गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

एमालेले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको गतिविधि हेर्न स्याङ्जाका सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्री परिषद समुह बनाएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीको संयोजकत्वमा बनेको यो समुहको सदस्यहरुमा प्रमुख सचेतक मायानाथ अधिकारी र कास्केली सांसद मीना गुरुङ रहेका छन् ।

त्यस्तै, भौतिक पूर्वाधार, विकास तथा यातायात समूहमा यसअघी सोहि मन्त्रालय सम्हालेका गोरखाली सांसद रामशरण बस्नेतको संयोजकत्वमा रोशन गाहामगर र प्रभा कोइराला सदस्य रहेको समिति बनाएको छ । एमालेले माधवकुमार नेपाल समूहका ईन्द्रलाल सापकोटाको संयोजकत्वमा अर्थ समूह गठन गठन गरेको छ भने यस समूहमा कास्केली सांसद कृष्णबहादुर थापा सदस्य रहेका छन् ।

छाँया सरकारको सामाजिक विकास समूहमा नरदेवी पुन मगरको संयोजकत्वमा तनहुँका सांसद जनकलाल श्रेष्ठ र मुस्ताङी सांसद इन्द्रारा विष्ट सदस्य रहेको समिति बनेको छ । यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण समूहमा यसअघी सोहि मन्त्रालय सम्हालेका विकास लम्सालको संयोजकत्वमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य रहेको समिति बनाएको छ ।

एमालेले कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालय हेर्न मुस्ताङी सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा कास्केली सांसद पुष्पा केसी भण्डारी सदस्य रहेको समिति बनाएको छ ।  त्यस्तै, कास्केली सांसद मित्रकुमारी गुरुङ सुवेदीको संयोजकत्वमा भूमि, व्यवस्था, कृषि समूह बनाइएको छ । जसको सदस्यमा कास्केली सांसद मनबहादुर गुरुङ र महेन्द्र थकाली रहेका छन् । एमालेले मीनप्रसाद गुरुङको संयोजकत्वमा ऊर्जा, खानेपानी समूह बनाएको छ भने यसको सदस्यमा धनञ्जय दवाडी रहेका छन् । कास्केली सांसद तथा युवा नेता राजिव पहारीलाई स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर रहेका छन् ।

एमालेका अनुसार गठित समूहले सरकारका सम्बन्धित मन्त्रालयको गतिविधि नियाल्ने र खबरदारी गर्ने जनाइएको छ । प्रमुख सचेतक अधिकारीका अनुसार नव गठित समूहले सम्बन्धित मन्त्रालयका बजेट, योजना, कार्यान्वयन पक्ष, त्यसको प्रभावकारिता लगायतका विषयमा अध्ययन गर्नेछन् । उनले भने, ‘यो छायाँ सरकार भनेर बनाएको होइन, यो त हाम्रो सरकार हुँदा पनि बनाउनुपर्ने समूह हो ।’ तर पहिले नबनाएर अहिले मात्र किन बनाइएको हो त भन्ने प्रश्नमा उनले थपे, ‘पहिलेपनि आवश्यकता महशुस भएकै थियो, तर प्राविधिक रुपमा बनाइएको थिएन, अब अहिले जरुरी ठानेर तत्काल बनाएका हौं ।’

यसैबीच, एमालेले किरण गुरुङलाई संसदीय दलको उपनेता चयन गरेको छ । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गुरुङलाई एमाले संसदीय दलको बैठकले उपनेतामा चयन गरेको हो । त्यस्तै दलको सचेतकमा सावित्रा रानालाई चयन गरेको प्रमुख सचेतक अधिकारीले जानकारी दिए ।

केपी ओलीले संसद विघटन गरेर प्रतिगमन गरेको बिरुद्ध आन्दोलित बिपक्षी गठबन्धनले ओलीको मतियारको रुपमा प्रयोग भएको भन्दै गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई ढलाएर नयाँ सरकार बनाएको थियो । गत जेठ २७ गते सरकार ढलेको एमालेले २ महिनापछि छाँया सरकार बनाएको हो । छाँया सरकारले सम्बन्धित मन्त्रालयको गतिविधि नियाल्ने, बजेटको अवस्था, त्यसको कार्यान्वयन र प्रभावकारिता लगायतका विषयमा अध्ययन र खबरदारी गर्ने एमालेले जनाएको छ ।

प्रकाशित: ३० श्रावण २०७८ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App