२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

इटहरीका मेयरका गतिविधिविरुद्ध काँग्रेसद्वारा प्रदर्शन

मेयर द्वारिकलाल चौधरीविरुद्ध प्रदर्शन गर्दै नेपाली काँग्रेसका कार्यकर्ता। तस्बिर: नागरिक

नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको गतिविधीबिरुद्ध विहीबार प्रदर्शन गरेको छ। स्वच्छाचारी ढंगले जनतालाई दुखःदिने काम गरेको भन्दै काँग्रेसले कार्यलय प्रवेशमा रोक लगाएर प्रदर्शन गरेको हो।  

मेयर चौधरीले इटहरी वडा नं. ४ आइतबारेका यामप्रसाद ढकाललाई बुधबार कार्यालयमै बोलाएर थुनेका थिए। मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेका थिए। नेपाली काँग्रेसले उपमहागनरपालिकाको प्रवेशस्थलमा १ घण्टा प्रदर्शन गरेको हो। प्रदर्शनपछि काँग्रेसले इटहरी उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजकला दबाडीलाई ज्ञापन पत्र बुझाएको छ।  

नेपाली काँग्रेस इटहरी उपमहानगर कमिटीका सभापति हेमकर्ण पौडेलले प्रदान गरेको ज्ञापनपत्रमा मेयर चौधरीले केही दिनयता इटहरीका प्रतिष्ठित व्यक्ति तथा संस्थाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएकोमा खेद व्यक्त गरिएको छ। ज्ञापनपत्रमा सार्वजनिक जग्गा खोज्ने नाममा जनतालाई दुखः दिने काम बन्द गर्नुपर्ने र सार्वजनिक जग्गामा बनेका संरचना हटाउँदा जनताको वैकल्पिक बसोबासको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।  

विगतमा सूचना प्रकाशित भएका व्यक्तिगत तथा संस्थागत भौतिक संरचना हटाई खोला तथा पैनीको संरक्षण गर्नुपर्ने पनि काँग्रेसले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएो छ। मेयर चौधरीले आफ्ना गतिबिधीप्रति आत्मालोचित हुँदै विधि प्रक्रिया र कानुन वमोजिम कार्यसम्पादन गर्नुपर्ने पनि ज्ञापनपत्रमा काँग्रेसले ध्यानाकर्षण गराएको छ।  

मेयर चौधरीले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने बेला बेलामा अभिव्यक्ति दिने र मनोमानी ढंगले डोजर नै लिएर जाने गरेपनि विधि र प्रक्रियागत ढंगले काम नगर्दा चुक्दै आएका छन्। मेयर चौधरी निर्वाचित भएदेखि यता पटकपटक विवादित काम गर्दै आएका छन्। उनले थुप्रैपटक पत्रकार र आफ्नै कार्यालयका कर्मचारीमाथि दुव्र्यहार गरेका छन्। महिलाको अस्मितामाथि आँच पुग्ने अभिव्यक्ति दिनुका साथै दुव्र्यवहार पनि गरेका छन्।  

प्रकाशित: २८ श्रावण २०७८ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App