११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आयोगले समस्या समाधान हुँदैन : गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमिहीन किसानको समस्या अन्त्य गर्न भूमिमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले भने ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि सुकुमवासी हुँदैहुँदै जानेछन्।’ उनले २०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा बनेका भूमिसम्बन्धी आयोगले सुकुमवासी समस्या समाधान गर्न नसक्नुमा आयोगको बाटो अवैज्ञानिक भएको बताए।  

उनले भने, ‘अहिले पनि यो भूमि आयोग विगठन भएकोमा आन्दोलन गर्ने र अर्को आयोग बनाउने तयारी भएको छ। विगतमा बनेका आयोगले के काम गर्‍यो ?’, उनले भने, ‘कारणमा जान्ने हो भने आयोगले भूमिविहीनको समस्या समाधान गर्न सक्दैन। जमिनमाथिको व्यक्तिगत हक कायम जहिलेसम्म हुन्छ तबसम्म समस्या रहने भयो। त्यसैले, चलनचल्तिको मूल्यमा व्यक्तिको जमिन किनेर सरकारले आफ्नो बनाओस्।’ उनले पञ्चायतकालमा पनि भूमि वितरण गर्ने नीति असफल भएको बताए। 

जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने उनको भनाइ थियो। ‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं,’ उनले भने, ‘सुकुमवासीहरू कहाँबाट जन्मिरहेका छन् भन्नेमा पुग्नुपर्छ।’ हामीले अहिलेको तरिकाबाट भूमिहीन र सुकुमवासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं। ०५१ सालमा बनेको आयोगले कति समस्या समाधान गर्‍यो, किन फेरि पनि त्यतिकै मान्छे भूमिहीन भएका छन्, सुकुमवासी भएका छन्, कहाँबाट जन्मिराखेको छ त्यसको कारणमा जान पर्दैन र ?’

उनले २०५१ सालमा एमाले नेतृत्वको सरकारले बनाएको भूमिहीन सुकुावासी समाधान आयोगले दुई लाख परिवारलाई जमिन बाँढेको र त्यसपछि नेपाली कांग्रेसको सरकारले आयोग बनाए पनि समस्या समाधान नगरेको जिकिर गरे। विगतको केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोगमा १६ लाख भूमिहीन सुकुमवासीले आवेदन दिएको उल्लेख गर्दै उनले आयोगले उनीहरूलाई प्रतिपरिवार ५ कठ्ठा दिने भनेको आफूले सुनेको बताए। उनले भने, ‘यसो हिसाब गर्दा १६ लाख भूमिहीनलाई ५/५ कठ्ठाको दरले जग्गा बाँड्दा ४ लाख हेक्टर जमिन चाहिने रहेछ, यो कहाँबाट आउँछ, जंगलको जमिन अतिक्रमण गर्नेभन्दा अर्को बाटो छैन।’ उनले अहिले नेपालको २६ लाख हेक्टर जमिन चार करोड टुक्रा भएको छ यसरी जमिन टुक्राउने काम नगर्न पनि सुझाव दिए। 

प्रकाशित: २५ श्रावण २०७८ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App