१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा छैन: गृहमन्त्री खाँण

सरकारले भूमिहीनलाई प्रक्रियागतरुपमा जग्गाको स्वामित्व दिन सरकार तयार रहेकाे बताएकाे छ।नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा नभएकाले प्रक्रिया पूरा गरेर उनीहरुलाई पूर्जा वितरण गर्न चाहेकाे गृहमन्त्री बालकृष्ण खाँणले बताए।

'भूमिहीनलाई उचित समयमा लालपूर्जा दिन चाहान्छाैं त्यसका लागि सरकार कटिबद्ध छ, छुटेका विषयलाई पनि संशोधन गरेर आयोग चाँडै बन्नेछ, आयोगले अविलम्ब काम प्रारम्भ गर्नेछ। यो विषयमा सरकार अत्यन्तै संवेदनशील र गम्भीर छ', उनले भने, 'नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा नभएकाले हामी प्रक्रिया पूरा गरेर उहाँहरुलाई पूर्जा वितरण गर्न चाहन्छौँ।'

विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जानकारी दिए।

'अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिकरुपमा कमीकमजोरी रह्यो, यसलाई परिमार्जन र परिस्कृत गरी हामी प्रक्रिया अघि बढाउन र भूमिहीनलाई जग्गाको स्वामित्व दिन चाहन्छौँ,' गृहमन्त्री खाँणले भने, 'सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ। यसबाट कोही पनि नछुटुन्। सबैलाई सम्बोधन गर्न सकियोस् भन्ने सरकारको सदासयता र चाहना हो।'

उनले संविधानको मौलिक अधिकारमै भूमिहीन र दलितलाई यी कुराको सुनिश्चिता गरेकाले सरकारले संविधान र प्रक्रियागतरुपमा नागरिकका सरोकारका विषयलाई सम्बोधन गर्न प्रतिबद्ध बताए। गृहमन्त्री खाँणले भने, 'भूमिहीनसँग सम्बन्धित समस्या समाधानसँग सम्बन्धित सबै सरोकारवाला सबैलाई हामी आग्रह गर्न चाहन्छौँ यो विषयमा आत्तिहाल्ने र राजनीतिकरण गर्नुपर्ने अवस्था छैन।'

उनले संविधानले भूमिहीन र दलितलाई एकपटकका लागि जग्गा दिने र बसोबासको व्यवस्था गर्ने तथा अन्यलाई पनि उचित बसोबासको व्यवस्था र जग्गा प्रदान गर्ने कार्यमा आधारशीला तयार गरेको उल्लेख गरे।

आयोग गठनका सन्दर्भमा देखिएका कमीकमजोरीलाई सुधान गर्न सरकारले आयोग विघटन गर्नुपरेको जनाएको छ। रासस

प्रकाशित: २३ श्रावण २०७८ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App