३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुखद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गरेका छन्।

सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरुलाई तोकिएको समयभन्दा अगाडि नै सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताएकाम हुन्। कोरोनाका कारण प्रतिकूलस्थिति रहेको उल्लेख गर्दै उनले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाईन्ट भेन्चर’को ध्यानाकर्षण गराए।  

सभामुख सापकोटाले राष्ट्रकै सबैैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गरे। ‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस्। किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौं', सभामुखले भने, 'हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं। समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनु पर्दछ। कोरोनाको प्रतिकूलतालाई चीर्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ।’

संघीय संसद सचिवालयले सो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न समन्वय गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि जनाएको छ। सभामुख सापकोटाले सो भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोकिदिने जानकारी दिए। उनले सो भवन निर्माणका लागि आयोजनालाई कुनै समस्या भए आफूले प्रधानमन्त्रीसँग पनि समन्वय गरेर समाधान गरिदिने स्पष्ट पारे।

२० महिना अघिबाट निर्माण सुरु गरिएको सो आयोजनाको लागत करिव ५ अर्व ६७ करोड ६१ हजार अनुमान गरिएको छ। साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माणका कार्य सोचे अनुसार अघि बढ्न नसकेको आयोजनाको भनाई छ। कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाई हुन गएको आयोजनाका प्रमुख दिलिप शेखर श्रेष्ठले बताए।

सो भवन १७३ रोपनी ८ आना क्षेत्रमा बन्दैछ। यस क्षेत्रमा ८ वटा ब्लकहरु निर्माण हुने छन्। संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृहसहितको व्यवस्था हुनेछ।

प्रकाशित: २२ श्रावण २०७८ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App