८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चन्द नेतृत्वको नेकपाले खोटाङमा एमसिसि र एनसेलविरुद्ध संघर्ष गर्ने

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समिति खोटाङले एमसिसि र एनसेल विरुद्धको विरोध तथा संघर्षको कार्यक्रमलाई व्यापक बनाउने निर्णय गरेको छ।  

केन्द्रीय सदस्य शैलेश, जिल्लाका पूर्वसेक्रेटरी सञ्जिवको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको गोप्य ठाउँमा साउन १४ र १५ गते बसेको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समितिको १० औं पूर्ण बैठकले एमसिसि र एनसेल विरुद्धको विरोध तथा संघर्षको कार्यक्रमलाई व्यापक बनाउने निर्णय गरेको हो।  

नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समितिका जिल्ला सेक्रेटरी जीवनले मंगलबार विज्ञाप्ती जारी गर्दै केन्द्रिय कमिटिको निर्णय अनुसार एमसिसि र एनसेल विरुद्धको संघर्षका कार्यक्रमलाई गाउँतहसम्म व्यापक बनाउने निर्णय गरिएको जानकारी दिएका छन्। बैठकमा केही समयअघि सरकारसँग भएको ३ बुँदे सहमतीको विषयमा समिक्षा गर्दै सो सहमती कार्यान्वयनका लागि वर्तमान सरकारको ध्यानाकर्षण गराउने, रणनितिक संयुक्त मोर्चा बनाएर जिल्लामा गरिने कामलाई व्यबस्थित गराउन प्रगतिशिल र राष्ट्रबादी शक्तिसँग छलफल, अन्तरक्रिया र सहकार्य गर्ने निर्णय भएको जनाइएको छ।  

नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समितिले खोटाङमा देखा परेको भ्रष्टाचार, ढिलासुस्ती र बिकृति विरुद्ध सरोकारवालासँग छलफल गर्दै संघर्षका कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ। जिल्लामा भ्रष्टाचार र नीतिगत भ्रष्टाचारको बिरुद्धको संघर्षलाई अगाडि बढाउने, विकास निर्माणका नाममा भइरहेका ढिलासुस्ती, अस्तब्यस्तता, राज्यसंयन्त्रको मौनता र मिलेमतो बिरुद्धको संघर्षलाई चुस्त बनाउने, महंगी, कालोबजारी र कृत्रिम अभाव बिरुद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरिएको विज्ञाप्तीमा उल्लेख छ।  

यस्तै, महिला हिंसा लगायत गाउँमा व्याप्त गुण्डागर्दी बिरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउने, जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लगायत राज्यले प्रदान गर्ने सेवा सहजताका लागि पहल गर्ने, दुधकोशी जलसाययुक्त जलबिद्युत आयोजनाको प्रभाबित क्षेत्रको समस्याको बिषयमा अध्यायन गर्ने, हलेसी लगायतका धार्मिक स्थल र मन्दिरहरुबाट केही ब्यक्तिको मिलेमतोमा पुरातात्विक समान र भौतिक सामग्री कौडीको मूल्यमा बिक्री गरेको प्रति गम्भिर बन्दै उचित छानबिन गरि कारबाही गर्ने निर्णय गरिएको सेक्रेटरी जीवनले बताए।  

सो पार्टीले बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट हुने बिपत्ति र कोभिड महामारी लगायतका बिपत्तिमा जनसेवामा जुट्न सबै पार्टी पंक्ती तथा जनबर्गिय संगठनलाई परिचालन गर्ने, आफ्नो पार्टीको नाम र लोगो प्रयोग गर्ने दोषीको विषयमा अनुसन्धान गरी उचित समयमा सार्बजानिक गरि कारबाही गर्ने, जिल्लाको सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।  

बैठकले जिल्लाका सबै गाउँ तथा नगर कमिटिको सेक्रेटरीको जिम्मेवारी टुंग्याउँदै जिल्लामा रहेका जनशक्तिलाई ३ वटा टोलीमा बिभाजन गरी साउन २० गतेदेखि संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने, जनबर्गिय संगठन र मोर्चाहरुको जिल्ला भेला गर्ने निर्णय गरिएको सेक्रेटरी जीवनले जानकारी दिए।  

प्रकाशित: १९ श्रावण २०७८ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App