९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन्।  

 जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन्। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेक छन्।  

 जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो। निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ।  

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए। उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ। जसपा विभाजन नभई जसपामा आउन नचाहने नेताहरुले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ। यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो।

प्रकाशित: ११ श्रावण २०७८ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App