coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताए। उनले आइतबार एडिबी र विश्व बैंकसँग ऋण लिनका लागि हस्ताक्षर गरेको पनि जानकारी दिए। उनले भने,‘अहिलेको पहिलो प्राथमिकता भनेको सबै जनमानसहरुलाई, ६० प्रतिशत जनमानसलाई खोप लगाउन सकियो भने राम्रो हुन्छ भनेर त्यो खोप ल्याउने। हिजो भर्खरै मैले एउटा साइन गरेको छु एडिबी र विश्व बैंकबाट सर्टेन ऋण लिने भनेर। त्यसको अलावा हामीले किनेर, अनुदानमा ल्याउँ चाँडोभन्दा चाँडो खोप ल्याएर खोपको व्यवस्थापन गर्नु जरुरी छ।’

राज्यमन्त्री श्रेष्ठले कुन–कुन ठाउँबाट खोप दिइँदैछ भन्ने सम्बन्धमा मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिइसकेको बताए। कोभिडविरुद्धको खोप लगाएको प्रमाणित गर्न धेरै भिड भएको भन्दै उनले सबै जिल्लाहरुबाट प्रमाणित गर्न सकिनेगरी व्यवस्था मिलाउने पनि बताए। त्यसैगरी फ्रन्टलाइनमा काम गर्ने सवारी चालक, सहचालकदेखि शिक्षकहरुलाई खोपको उपलब्धता गराउने पनि उनले बताए। 'अहिले ५ ठाउँ भाको ठाउँमा २० ठाउँमा बनाउँ। हामीसँग जति खोप स्टक छ, यहाँ नराखौँ। ठाउँ ठाउँमा दिऊँ,' उनले भने, '५० वर्ष माथिकालाई, फ्रन्टलाइनमा काम गर्नेहरुलाई पहिलो प्राथमिकतामा राखेर दिनुपर्‍यो। त्यसको अलावा टिचर्सहरु, प्रोफेसरहरुलाई लगाउँदाखेरी ५/१० लाखको आवश्यकता पर्छ। त्यसमा हामीले चाँडोभन्दा चँडो व्यवस्थापन गर्नुपर्‍यो।’

उनले सबै प्रदेशमा कोभिड १९ सम्बन्धी हेर्नेगरी प्रदेशस्तरिय अस्पताल बनाउनु आवश्यक रहेको बताए। खोप सेन्टरलाई अझै धेरै ठाउँमा विस्तार गर्नुपर्ने उनको भनाई छ। राज्यमन्त्री श्रेष्ठले कोभिड १९ संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले त्यसका लागि तयारी आवश्यक रहेको पनि उल्लेख गरे। 

त्यसैगरी बैठकमा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिनासम्ममा २ करोड १५ लाखलाई खोप उपलब्ध गराउने रोडम्यापको आधारमा काम गरिरहेको बताए। आवश्यक खोप किन्नको लागि प्रक्रिया अगाडी बढिरहेको पनि उनले बताए। उनले भने, ‘असोज महिना भित्रमा लक्षित समूहका ३३ प्रतिशतलाई खोप दिने र चैतसम्ममा खोप उपलब्ध भएमा सबैलाई २ करोड १५ लाखलाई खोप उपलब्ध गराउन सकिन्छ भन्ने रोडम्यापको आधारमा काम गरेका छौँ।’

प्रकाशित: ११ श्रावण २०७८ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App