१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

साझा कार्यक्रममा केन्द्रित हुँदै सत्ता गठबन्धन

सत्ता गठबन्धनको बैठकमा सहभागी शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसी। तस्बिर: रासस

सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलका दुईवटा बैठकले नयाँ सरकारले जनहितमा गर्न सक्ने कामको खाका तयार गरेको हो।

सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता दिने तयारी गरेको छ। सरकारको साझा कार्यक्रमसहित मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा पाँच दलीय गठबन्धनका नेताहरू सक्रिय छन्। सोही क्रममा शनिबार साँझ पाँच दलीय कार्यदलले शीर्ष नेताहरूलाई सरकारको साझा कार्यक्रम निर्माणसहितका विषयमा अहिलेसम्म गरेका कामको जानकारी गराएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी बैठकमा कार्यदलका संयोजक खड्काले कार्यदलले गरेको कामको ब्रिफिङ गरेका हुन्।  

कार्यदलले तयार गरेको प्रस्तावमा शीर्ष नेताहरूले केही विषय संशोधन र थप गर्न कार्यदललाई सुझाएका छन्। कार्यदलका दुईवटा बैठकले गरेको कामका विषयमा शीर्ष नेताहरूलाई ब्रिफिङ गर्ने काम भएको जानकारी दिँदै संयोजक खड्काले भने, ‘शीर्ष नेताहरूले जनहितमा सरकारले काम गर्नुपर्ने र त्यसका लागि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ। ’देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गठबन्धनको बैठकमा सहभागी हुन छाडेका एमाले नेता माधवकुमार नेपाल पनि सहभागी भए।  

शनिबार साँझको बैठकमा सहभागी शीर्ष नेताहरूले देउवालाई सामूहिक रूपमा भेटेर पहिलोपटक बधाई दिँदै पार्टी बैठक सरकारी निवासमा नराख्ने निर्णयको प्रशंसासमेत गरेका थिए। ‘पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने सानो काम तर त्यसको म्यासेज ठूलो छ,’ बैठकमा सहभागी नेताहरूको भनाइलाई उद्धृत गर्दै खड्काले भने, ‘यही तरिकाको म्यासेज दिने र जनताको हितमा काम गर्ने कुरामा तपाईं दृढ भएर लाग्नोस्, हाम्रो सहयोग निरन्तर रहन्छ।’

कोरोनाविरुद्धको खोप र जनहितमा काम गर्दै सरकार र गठबन्धनलाई सफल बनाउने कुरामा नेताहरूले जोड दिएका थिए। सरकारको साझा कार्यक्रमलाई छिटो टुंगोमा पुर्‍याउँदै मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा नेताहरू रहेको स्रोतको दाबी छ। त्यसका साथै सरकारमा माधव नेपाल समूहको सहभागिताका विषयमा पनि छलफल भएको थियो। बैठकमा सहभागी शीर्ष नेताहरूले आ–आफ्ना दलभित्र र समग्र मुलुकका राजनीतिक अवस्थाका विषयमा चर्चा गर्दै त्यसलाई छिचोलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए। त्यसअघि माओवादी अध्यक्ष दाहालले एमाले नेता नेपालसँग उनकै निवास कोटेश्वरमा बिहान भेटेका थिए।

प्रकाशित: १० श्रावण २०७८ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App