३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

तीन सहसचिवको बढुवा

सरकारले तीन वरिष्ठ सहसचिवलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। सरकारले तीन वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै कर्मचारीलाई सचिव पदमा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रशासन सेवाका किरण शर्मा र रामप्रसाद घिमिरे तथा स्वास्थ्य सेवाका डा. रोशन पोखरेललाई वरिष्ठ सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराए। 

उनका अनुसार पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पदस्थापन गरिएको छ। पोखरेल यसअघि स्वास्थ्य मन्त्रालयको विशेषज्ञका रूपमा कार्यरत थिए। बढुवा सिफारिस समितिले पोखरेललाई पहिलो नम्बरमा बढुवा गर्न सिफारिस गरेको थियो। दोस्रो नम्बरमा दीपेन्द्र सिंह र तेस्रो नम्बरमा महेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको थियो। सरकारले पहिलो नम्बरमा सिफारिस गरिएकालाई बढुवा गरेको हो।

सरकारले २०७५ सालदेखि स्वास्थ्य मन्त्रालयको सचिवमा प्रशासन सेवाका कर्मचारीलाई पदस्थापन गराउँदै आएको थियो। तीन वर्षपछि पहिलोपटक स्वास्थ्यमा स्वास्थ्य सेवाका कर्मचारीलाई सरकारले स्वास्थ्यमा पदस्थापन गरिएको छ। २०७५ सालमा स्वास्थ्य सेवाकी तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालयमा तानेको थियो। सरकारको उक्त निर्णयविरुद्ध उनी अदालतमा गएकी थिइन्। अदालते सेवा समूह मिल्ने मन्त्रालयमा पदस्थापन गर्न निर्णय गरेको थियो। 

सर्वोच्चको उक्त निर्णयपछि उनी केही समय स्वास्थ्यमै कार्यरत रहिन्। तर, २०७५ मंसिरमा उनले सचिव पदबाट राजीनामा गरिन्। चौधरीपछि स्वास्थ्य मन्त्रालयको सचिवमा प्रशासन सेवाकै कर्मचारी मात्र कार्यरत थिए। ओली नेतृत्व सरकारको पालामा बढुवा भएका दुई सचिवलाई पदस्थापन गर्न बाँकी नै छ। यसअघि सचिवमा बढुवा भएका दुई सचिव कृष्णहरि पुस्कर र खगेन्द्र नेपाललाई सरकारले प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएको छ।  

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार तीन वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णयसँगै रिक्त सचिव पदले पूर्णता पाएको छ। यसअघि ओली नेतृत्व सरकारले पुस्कर, नेपाल, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा. दामोदर रेग्मी तथा राजेन्द्र खनाललाई सहसचिवबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

यही साउन ६ बाट सञ्चार सचिव हरि बस्यालले ५८ वर्ष उमेर हदको कारण अनिवार्य अवकाश पाउँदैछन्। त्यसपछि फेरि एक सचिव पद खाली हुने भएको छ। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारिस समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्दै आएको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था गरिएको छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था गरिएको छ। एक रिक्त सचिव पदका लागि  

बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीनजनामध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ। वरिष्ठ सहसचिवबाट सचिव पदमा बढुवा गरेपछि पहिलो नियुक्ति काठमाडौंबाहिर गर्ने परम्परा छ। तर, केही सचिवलाई भने सोझै मन्त्रालयमा पदस्थापन गर्ने गरिएको छ।  

प्राविधिक सेवाका कर्मचारीलाई भने काठमाडौंबाहिर मिल्दा पद नहुने भएकाले काठमाडौंमै पदस्थापन गर्ने गरिएको छ। सचिव पदमा बढुवा भएकाहरू दामोदर रेग्मीलाई गण्डकी प्रदेश, सुशीलचन्द्र तिवारीलाई पुनर्निर्माण प्राधिकरण, गणेश पाण्डेलाई कर्णाली प्रदेश, मधुसूदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिवका रूपमा ओली सरकारले पदस्थापन गरेको थियो। कृष्णप्रसाद आचार्यलाई भने वन मन्त्रालयमा पदस्थापन गरिएको छ। आचार्य वन तथा कृषि समूहका हुन्।

प्रकाशित: ५ श्रावण २०७८ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App