७ वैशाख २०८१ शुक्रबार
राजनीति

उत्तरी गोरखा पुगे गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु

फोटो सौजन्य : मन्त्री हरिशरण आचार्यको सचिवालय

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरुसहित तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन्। स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव डाक्टर दामोदर रेग्मी माउन्टेन एयरको हेलिकप्टरबाट उत्तरी गोरखा पुगेका हुन्।  

गोरखा सदरमुकामबाट माउन्टेन चाईल्ड नामक संस्थाले उत्तरी गोरखामा कोरोनाविरुद्धको खोप ढुवानी गर्ने र प्रदेशबाट थप स्वास्थ्य सामग्रीसहित मुख्यमन्त्री, मन्त्रीहरु जाने कार्यक्रम तय भएको थियो। मौसम प्रतिकुल भएका कारण खोप लिएर जाने हेलिकप्टर भने काठमाडौँबाट गोरखा आउन सकेन। हेलिकप्टरले मौसम सफा भएका शनिबार खोप ढुवानी गर्ने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए। 

मुख्यमन्त्रीसहित मन्त्रीहरु चुमनुब्री गाउँपालिका ७ छेकम्पार, वडा नम्बर २ ल्हो र वडा नम्बर ३ जगत पुगेका हुन्। मौसम प्रतिकुल हुँदा सामागाउँ पुग्न नसकिएको उर्जामन्त्री हरिशरण आचार्यले बताए। खोप ढुवानी गर्ने हेलिकप्टर ढिलो हुने भएपछि मन्त्रीहरु आफूले लगेको स्वास्थ्य सामग्री वितरण गरेर फर्किएका हुन्।  

‘यारुबगरको बाटो, सल्लेरीको पहिरो पनि हेरियो’, उर्जामन्त्री हरिशरण आचार्यले भने, ‘हामीले पोखराबाट लगेको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फर्कियौँ।’ स्थानीय पैदल हिँड्ने बाटो नहुँदा समस्या भएको, खाद्यान्न अभाव हुन सक्ने र खानेपानीको समस्या रहेको गुनासो गरेका मन्त्री आचार्यले बताए। स्थानीय ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँग भेटघाट गरेर मुख्यमन्त्रीसहितको टोली फर्किएको हो। स्थानीयले राखेको गुनासो तत्काल संबोधन गर्ने र बाटो बनाउन डोजर पठाउने आश्वासन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएका छन्।

प्रकाशित: १ श्रावण २०७८ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App