३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

केपी ओली नेतृत्वको सरकारले जाँदा जाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। तीनपटकसम्म बढुवा सिफारिश समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ।

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इञ्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। साथै उक्त बैठकले खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन पनि गरेको छ। खनाल अवकाशको संघारमा छन्। करिब दुई महिनापछि ५८ वर्ष उमेर हदको कारण अवकाश लिने भएका छन्।

सहसचिवबाट सचिव भई अवकाश पाउँदा पेन्सन सुविधामा फरक पर्छ। यसबाट राज्यको व्ययभार पनि केही बढ्छ। बढुवा सिफारिश समितिले पहिलो नम्बरमा गोपाल सिग्देल, दोस्रो नम्बरमा राजेन्द्रप्रसाद खनाल, तथा तेस्रो नम्बरमा सुर्जकुमार वैद्यको नाम सिफारिश गरेको थियो। तर ओली सरकारले दोस्रो नम्बरमा सिफारिश गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो।  

त्यसो त, सिग्ेदलको नाम बढुवा सिफारिश समितिले तीनपटकसम्म बढुवाका लागि सिफारिश गरेको छ। दोस्रोपटक बढुवा सिफारिश समितिले पहिलो नम्बरमा सुशील तिवारी, दोस्रो नम्बरमा गोपाल सिग्देल तथा तेस्रो नम्बरमा राजेन्द्र खनाललाई सिफारिश गरेको थियो। यसैगरी, सिफारिश समितिले पहिलोपटक सहसचिवबाट सचिवमा बढुवा गर्न पहिलो नम्बरमा प्रमिला बज्राचार्य, दोस्रो नम्बरमा सुशिलचन्द्र तिवारी र तेस्रो नम्बरमा गोपाल सिग्देलको नाम सिफारिश गरेको थियो।

लोकसेवा आयोगको अध्यक्षतामा बढुवा सिफारिश समितिको बैठक बस्ने र उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य हुने निजामती सेवा ऐन २०४९मा व्यवस्था गरिएको छ। बढुवा सिफारिश समितिले धमाधम रिक्त पदमा बढुवाका लागि सिफारिश गर्ने गरेको छ।  

बढुवा सिफारिश समितिले ३ पटकसम्म बढुवाका लागि सिफारिश गरे पनि बढुवा नगरिएका सिग्देलप्रति अन्याय भएको सिग्देलनिकट कर्मचारी बताउछन्। सिग्देल हाल कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सचिव पदमा कार्यरत छन्। सिग्देलनिकट एक कर्मचारीले भने, ‘यो भनेको उहाँ (गोपाल सिग्देल)प्रति अन्याय हो।’ सरकारले पालो मिचेर बढुवा गर्दा उच्च कर्मचारीहरूमा कामभन्दा पनि चाकडी प्रणाली विकास हुने उनको भनाइ छ।  

पालो मिचर सचिवमा बढुवा गरेको यो पहिलो उदाहरण भने होइन। यसअघि पनि ओली नेतृत्व सरकारले पालो मिचेर सचिवमा बढुवा गरेको थियो। तत्कालीन वरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीलाई सचिवमा बढुवा गर्न सिफारिश समितिले ५ पटकसम्म सिफारिश गरे पनि दुवाडीको बढुवा गरिएको थिएन। छैटौंपटकको सिफारिशमा मात्र दुवाडीको बढुवा गरिएको थियो।  

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फका वरिष्ठ सहसचिवबाट सचिव पदमा बढुवा भएका कृष्णहरि पुस्कार र खगेन्द्रप्रसाद नेपाललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा खटाएको छ। प्रदेश सरकारका प्रमुख सचिवको सरुवा हुनेबित्तिकै पुस्कार र नेपाललाई प्रदेशमा खटाउने सरकारको तयारी छ। सहसचिवबाट सचिव पदमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंबाहिर गर्ने परम्परा छ। तर प्राविधिक सेवा तर्फका सचिवहरूको भने काठमाडौंबाहिर पद नमिल्ने नभएकाले पहिलो नियुक्त काठमाडांैमै हुने गरेको छ।

प्रकाशित: ३१ असार २०७८ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App