१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दिपावली

वाईसिएल नेपालको दिपावलीमा सहभागी नेता कार्यकर्ता । तस्बिरः महेश्वर

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ। सर्वोच्चको फैसला आएको सोमबार साँझ सदरमुकम गाईघाटमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दिपावली गरेका हुन्। 

नेकपा (माओवादी केन्द्र)निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) उदयपुरले छुट्टाछुट्टै कार्यक्रम गरी दिपावली गरेका हुन्। कांग्रेसनिकट नेपाल विद्यार्थी संघले गाईघाट बिपी चोकमा र वाईसिएलले लोकतान्त्रिक चोकमा दिपावली गरेको हो। एमालेका माधवकुमार नेपाल समूहका २३ सांसदसहित माओवादी केन्द्रको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिको दावी गर्दै परेको रिटमा सर्वोच्चको संवैधानिक इजालसले संसद पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र सांसदलाई ह्वीप नलाग्ने फैसला गरेको थियो।

नेविसंघले आयोजना गरेको दिपावलीमा बोल्दै कांग्रेसका क्षेत्रीय सभापति बसन्त बस्नेतले फैसलाले नेपालको राजनीतिमा बिधिको शासन कामय राख्न र प्रतिनिधिसभा विघटनको गलत कदम सच्याउँदै संविधानको रक्षा गर्न सहयोग गरेको बताए। उनले आफूबाहेक सबैलाई अयोग्य देख्ने र सत्ताका लागि जे पनि गर्न तयार रहेका प्रधानमन्त्री ओलीको तानाशासी कदमलाई न्यायालयले लिकमा ल्याएको बताए।  

उता वाईसिएलका जिल्ला अध्यक्ष ज्ञानेन्द्र मगरले बिग्रंदै गएको नेपाली राजनीतिलाई सही दिसामा ल्याउन सर्वोच्चको फैसला ऐतिहासिक र महत्वपूर्ण रहेको बताए। फैसलाले ओलीलाई परास्त गरेकोमा नभएर सम्पूर्ण देशवासीलाई न्याय मिलेको खुसीयालीमा आफूहरुले दिपावली गरेको मगरले बताए। दिपावली कार्यक्रममा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस), युवा नेता किरण राई, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बाबु विमल कार्कीलगायत नेता कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित: २८ असार २०७८ १५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App