१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न

धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ। असार ९ गतेबाट सुरु भएको नगर सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख परशुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। असार ९ गते नगर सभामा मेयर नेपालले वार्षीक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।  

त्यस्तै, उप–मेयर मञ्जु अधिकारीले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो। चालु आर्थिक वर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो। 

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो। नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको महालक्ष्मी नगरपालिकाका प्रवक्ता रामबहादुर खड्काले जानकारी दिए।  

सातौं नगर सभाको पहिलो बैठकले महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको थियो। महालक्ष्मी नगरले यसअघि नगरको बेग्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ। धनकुटामा आफ्नै नगर गान र नगरको बेग्लै लोगो प्रयोगमा ल्याउने महालक्ष्मी पहिलो पालिका हो।

प्रकाशित: २२ असार २०७८ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App