३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाढीपहिरो रोकथाममा नलागेको भन्दै सरकारको आलोचना

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदले सरकारले बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउने काममा राजनीति गरेको आरोप लगाएका छन्। बाढी पहिरोको विषयमा जानकारी दिन उपस्थित गृहमन्त्री विष्णु पौडेललाई सांसदले बाढीपहिरो पीडितको उद्धार राहतमा सरकारले उदासीनता देखाएको बताएका हुन्।  

गृह मन्त्रालयको कथा छेपाराको कथा जस्तो भएको छ भन्दै सांसद प्रकाश पन्तले गृहमन्त्री विष्णु पौडेललाई प्रश्न गरे, ‘जनताको उद्धारमा राहत हैन आहात भएको छ। कुरा हैन काम चाहियो।’ सांसद अनिता देवकोटाले बाढीपहिरोको विषयमा तीन तहको समन्वय नदेखिएकोले समस्या बढेको बताइन् भने सांसद रामनारायण बिडारीले कोसी, गण्डकी र महाकाली नदीमा सन्धी गरेर अनावश्यक ढोका राखेर नेपाल जलमग्न भयो भन्दै अहिलेको सरकारले भारत सरकारसँग केके गरेर रोक्ने काम गरेको छ कि फेरि डाराएर थुरथुर गर्दैै बसेको छ भन्दै प्रश्न गरेका थिए। सांसद मृगेन्द्रकुमार सिंहले पनि सरकारले डुबानको विषयमा केही प्रयास नगरेको बताए।  

उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले भने सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए। उनले भने, ‘सरकार रमिते भएर होइन, प्रो–एक्टिभ भएर परिचालित भएको छ।’ प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताएका थिए। राहत प्रदान गर्ने, अवरुद्ध सडक खुलाउने काममा सरकार केन्द्रित भएर लागेको उनले बताए। 

‘समस्याको मात्रै चर्चा गरेको छैन कसरी गम्भिरताका साथ काम गरको भन्ने कुरा पनि गरेको छु गृहमन्त्री पौडेलले भने, ‘सरकारले मानवीय प्रश्नमा राजनीति गरेको पनि छैन गर्न पनि चाहँदैन, राजनीति गर्ने हो भने अरू विषय प्रशस्तै छन,’ उनले भने। राहत वितरणमा सेलिब्रेटी बन्ने गरेको भन्दै उनले प्राकृतिक विपदमा परेकाहरूको राहतमा स्वेच्छिक ढंगले सहयोग गर्नेलाई एकद्धार प्रणाली अन्तर्गत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिए।  

उनले बाढी पहिरोबाट १ सय १२ घरमा आंशिक क्षति पुगेको र ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको जानकारी दिए। बाढी पहिरोबाट ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको पनि उनले बताए। १५ वटा पक्की पुल र २३ झोलुंगेपुलमा क्षति भएको उनले बताए। मेलम्ची खानेपानी आयोजनाको मुख्य कार्यालयमा पुग्नका लागि दुई वटा वेलिब्रिज निर्माणको तयारी गरिएको उनले बताए। उनले आयोजना स्थल जाने सडक तत्काल पुनःनिर्माण गर्ने, मर्मत सम्भार अघि बढाउने काम सुरु भएको पनि बताए। 

बाढीपहिरोबाट अहिलेसम्म ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको उनले बताए। विभिन्न जिल्ला २५ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको पनि उनले बताए। खोजी उद्धार राहतका लागि राज्यका सम्यन्त्रको समन्वयात्मक रूपमा परिचालन गरिएको भन्दै उनले दुई हजार जनालाई अन्य माध्यमबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए। 

उद्धारका लागि सुरक्षा निकायलाई तैनाथ गरिएको उनले बताए। सरकारले मनसुन जन्य विपतबाट प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापनाका लागि अनुदान दिने कार्यविधि २०७७ बमोजिम हिमाली क्षेत्रमा पाँचलाख, पहाडी क्षेत्रमा चारलाख, तराई क्षेत्रमा ३ लाख दिने व्यवस्था गरिएको उनले बताए। सो व्यवस्था बमोजिम गतबर्ष क्षति भएका ३ हजार ९ सय ४९ घरपरिवारलाई पहिलो किस्ता वापत ५० हजारका दररले रकम वितरण गरेको उनले बताए। यस वर्ष कुल ५ सय ७२ घरपरिवारलाई अस्थायी बसोवास गर्न पहिलो किस्तामा ५० हजारका दररले रकम उपलब्ध गराइने उनले बताए।

गृहमन्त्री पौडेलले कार्यविधिले निर्धारण गरेबमोजिमको रकम उपलब्ध गराउँदै जाने बताए। सबै प्रदेशमा बाढी तथा पहिरोको लगत तयार गर्ने काम सुरु भएको उनले बताए। उनले डुबानको समाधान गर्ने विषयमा नेपालभारत द्विपक्षीय संवाद भएको उनले बताए। 

प्रकाशित: २१ असार २०७८ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App