१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

केपी ओलीले भन्दैमा निष्ठा र आदर्श त्याग्ने व्यक्ति म होइनः पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

संसदमा विश्वासको मत पाउन असफल भएपछि सत्ताच्यूत भएका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कसैको दवाब वा प्रभावमा परेर आफू निष्ठा र आदर्श त्याग्ने व्यक्ति नभएको बताएका छन् ।

मुख्यमन्त्री पदबाट बाहिरिएसँगै आइतबार विहान पत्रकार सम्मेलन गरि उनले कोहि व्यक्तिको अगाडि आफुले घुँडा नटेक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत गुमेपनि मुख्यमन्त्री नछाड्न दवाब दिदाँ पनि तपाईंले नमानेर छाड्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘गलत हर्कतहरु गरेर मुख्यमन्त्रीमा टिकिरहने मन मेरो हिजो पनि थिएन, अहिले पनि छैन र भोलिपनि रहन्न । केपी ओलीले भन्दैमा पृथ्वी सुब्बा निष्ठा र आदर्श त्याग्ने व्यक्ति होइन । कोहि व्यक्तिको अगाडि हत्तपत्ति घुँडा टेक्ने व्यक्ति पृथ्वी सुब्बा होईन ।’

निवर्तमान मुख्यमन्त्री गुरुङले आफुले धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्न दावी पेश गरेको खुलाए । तर, प्रदेश प्रमुखको कार्यालयले त कृष्णचन्द्र नेपाली पोखरेल बाहेक अरु कसैको दाबी परेन भनेर सूचना जारी गरेको छ त भन्ने प्रश्नमा उनले भने, ‘कार्यालयले के भन्यो थाहा भएन, दाबी त मैले गरेको थिएँ ।’ उनले आफ्नो पार्टी एमालेका २७ सांसद हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पारे । बहुमत नपुग्दा नपुग्दै दाबीचाहिँ किन गर्नु भएको नि भन्ने अर्को प्रश्नमा उनले थपे, ‘दाबी त गर्न पाउनु प¥यो नि ! दाबी नै गर्न नपाउने त हुँदैन नि ।’

नेकपा एमाले गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका गुरुङले देश महामारीसँग जुधिरहँदा नेताहरु जनतालाई कसरी बचाउने भन्दा कुर्सीका लागि लडिरहेको आरोप लगाए । ‘राजनीति भनेको एउटा निष्ठा हो, आदर्श हो, तर प्रदेशमा मात्र होईन केन्द्रमा पनि राजनीतिक निष्ठा, आदर्शबाट टाढा भागेको देख्छु,’ उनले भने ‘यस्तो महामारीमा जनताको उपचार कसरी गर्ने भन्दापनि सबलाई प्रधानमन्त्री कसरी बन्ने, मन्त्री कसरी बन्ने भन्ने मात्र छ ।’  

उनले एमाले भित्र देखिएको समस्याकै कारण आफ्नो सरकार पनि गुमेको बताए । पार्टी भित्रको समस्या कारण अहिले फरक गठबन्धन बनिरहेको उनले बताए । ‘यदि पार्टीमा त्यस्तो समस्या हुन्थेन भने यसरी फरक गठबन्धन बन्ने पनि थिएन र अस्थिरता निम्तिने पनि थिएन,’ उनले भने ।

गुरुङले देशमा देखिएको समस्यामा केपी ओली मात्रै दोषी नरहेको बताए । उनले भने, ‘ हिजो २०१७ सालमा कांग्रेसको दुई तिहाईको सरकार किन गुम्यो, २०५९ सालको घटना किन घट्यो? अहिलेपनि त्यहि प्रवृत्ति छ, यसमा अदृष्य शक्तिहरु लागेका छन् ।’ उनले ती अदृश्य शक्तिबारे भने खुलाएनन् । ‘समस्याको जड मध्येको एक पात्र केपी ओली होला । तर यसमा अरु पनि छन्’–उनले भने ।

 गुरुङले आफु प्रदेश सभा र प्रदेश सरकारले ५ वर्ष कार्यकाल पुरा गर्न पाउनपर्ने पक्षमा रहेको बताए । त्यसले मात्र स्थिरताको प्रत्याभूति दिने उनको भनाई छ । ‘म मुख्यमन्त्री हुन्छु कि हुन्न । सांसद रहन्छु कि रहन्न । यसो गरियो भनेमात्र संघीयताको पुष्टि हुन्छ । प्रदेश सरकारको महत्व रहन्छ,’ उनले भने । उनले नयाँ प्रदेश सरकारले संघीयताको मर्म अनुसार संघीयताको स्वायत्तता कायम रहने गरि काम गरोस् भन्ने चाहेको बताए । त्यसका लागि आफूले सघाउने उनले प्रतिबद्धता जनाए । तर यो गठबन्धन अप्राकृतिक भएकाले धेरै लामो समय नजाने उनले भविष्यवाणी गरे ।  ‘चारतिर फर्केकाहरु मिलेका छन् । त्यसैले यो गठबन्धन धेरै लामो समय टिक्दैन । यसको आयु लामो छैन,’ उनले भने ।

गुरुङले अब आफूले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने बताए । अहिलेसम्म सरकारकै काममा व्यस्त हुँदा पार्टीको काममा समय दिन नपाएको भन्दै उनले अब पार्टीलाई मजबुत र सुदृढ बनाउन पहल गर्ने बताए ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App