३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई २४ घण्टा भित्र स्पष्टीकरण माग गरेका छन्।  

स्पष्टीकरण पत्रमा नेकपा एमाले स्थाई कमिटीको बैठकको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फवाट सरकारमा सहभागी मन्त्री फिर्ता हुने निर्णयको अवज्ञा गर्नुका साथै सोहि निर्णय बमोजिम प्रदेश कमिटीको निर्देशनको समेत अवज्ञा गरेको लेखिएको छ। यसैगरि तीन बुँदे स्पष्टीकरण पत्रमा पार्टी एकतालाई बिखण्डित गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतबिक्षत पार्ने गरि गुटका भेलामा सहभागी हुने र अरुलाई सहभागी हुन उत्प्रेरित गर्ने कार्यलाई निरन्तरता दिने गरेको, निजी स्वार्थका लागि देश, जनता र पार्टी हितलाई बेवास्ता गर्दै नितान्त आत्मकेन्द्रित अपराधिक मनोबृतिबाट ग्रसित रहेको देखिएको आरोप लगाइएको छ।

यसैगरि 'सुदूरपश्चिम मन्त्रीमण्डलमा बसेर आफ्नो पदीय गरिमामाको चरम दुरुपयोग गर्दै मन्त्रालयलाई बिरोधीहरुको अखडाको रुपमा प्रयोग गर्दै आउनु भएको, सभासद लगायत स्थानीय पार्टी नेतृत्वलाई पार्टीविरुद्ध उस्काउने र भड्काउने कार्यगर्नु भएको आरोप छ', भनेर स्पष्टीकरणमा लेखिएको छ।

माधव पक्षको बहुमत रहेको एमाले सुदूरपश्चिम संसदीय दलको सोमबार बसेको बैठकले अधिकारीक जानकारी नआएको भन्दै नेकपा एमाले स्थाई कमिटीको बैठकको निर्णय विपरित माओवादी केन्द्रको सरकारको समर्थन तत्काल फिर्ता नलिने र मन्त्रीहरु सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो। उक्त निर्णयपछि सोमबार नै नेकपा एमाले सुदूरपश्चिम समितिका अध्यक्ष थापा र सचिव रावलले तीन मन्त्रीलाई एमालेको स्थाई कमिटीको बैठकको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता हुन लिखित निर्देशन दिएको थियो। 

‘नेकपा(एमाले)को स्थाई कमिटीको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको जानकारी प्राप्त भएकोले सोही बमोजिम मन्त्रीबाट फिर्ता हुन र नेकपा एमालेको नेतृत्वमा अगामी सरकार गठनका लागि मार्ग प्रशस्त गरि आवश्यक पहलकदमी लिन यो निर्देशन जारी गरिएको छ’, पत्रमा लेखिएको थियो।

यसैगरि थापा र रावलले सोही व्यहोराका पत्र लेखेर नेकपा (एमाले) स्थाई कमिटीको सातौ बैठकको निर्णय निर्देशन पालना गर्न संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङलाई पनि निर्देशन दिएका थिए।  

प्रकाशित: १३ जेष्ठ २०७८ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App