६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपामा दुई धार कायमै

केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्ष दुई कित्तामा उभिएका छन्। यसबारे मंगलबार जसपाका दुवै पक्षले अनौपचारिक छलफल गरेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव समूह ओलीको विकल्पमा नयाँ गठबन्धन बनाउन सक्रिय भएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर यसको विपक्षमा देखिएका छन्।  

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। जसमध्ये २ जना निलम्बित छन्। बाँकी ३२ जनामा १६ जना पूर्वराष्ट्रिय जनता पार्टी र १६ जना पूर्वसमाजवादीका हुन्। यी दुवै पार्टी मिलेर जसपा बनेको हो। पूर्वराजपाका २ सांसद महेन्द्र यादव र चन्द्रकान्त चौधरी कित्ता परिवर्तन गरी उपेन्द्रको पक्षमा पुगेका छन्। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा यादव र चौधरीले विपक्षमा भोट दिएका थिए। यसैगरी पूर्वसमाजवादीका दुईजना सांसद विमल श्रीवास्तव र उमाशंकर अरगरैया ठाकुर पक्षमा पुगेका छन्। उनीहरू ठाकुर पक्षको लाइन अनुसार मतदानमा तटस्थ बसेका थिए। प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा ठाकुर पक्षका एक र उपेन्द्र पक्षका एक सांसद अनुपस्थित थिए।  

मुलुकको राजनीतिक अवस्थाबारे छलफल गर्न मंगलबार ठाकुर पक्षधर नेताहरूको पूर्वराजपा केन्द्रीय कार्यालय बबरमहलमा अनौपचारिक बैठक बस्यो। बैठकमा ओलीको विकल्पमा नयाँ गठबन्धनमा सहभागी नहुने सहमति भएको नेताहरूले बताए। ‘हामी ओली सरकारको विकल्पमा कुनै गठबन्धनमा सहभागी हुँदैनौं’, ठाकुर पक्षका राजेन्द्र महतोले भने, ‘सरकार ढाल्ने र बनाउने खेलमा लाग्दैनौं भनेर हामीले पहिला नै प्रष्टसँग भनिसकेका छौं।’

नयाँ सरकारका लागि गठबन्धन बनाउने भनी उपेन्द्र पक्षले गरेको निर्णय पार्टीको नभएको भन्दै महतोले भने, ‘उहाँ (उपेन्द यादव) ले पार्टी हितविपरीत बोल्नुभएको छ। उहाँलाई कारबाही हुन सक्छ।’ आफूहरू अहिले जसपाका माग र मुद्दा सम्बोधन गराउने विषयमा मात्र केन्द्रित भएको उनले बताए। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र ओली सरकारको विकल्पमा नयाँ गठबन्धन बनाउन मंगलबार दिनभर छलफलमा सक्रिय भए। भट्टराई–यादव पक्षले पनि मंगलबार अनौपचारिक बैठक गर्‍यो। 

भट्टराई–यादव पक्षका नेता रामसहाय यादवले ओली सरकारको विकल्पमा नयाँ गठबन्धन बनाउने निर्णय भएको बताए। उनले उपेन्द्रलाई कारबाही हुन सक्छ भन्ने महतोको भनाइ नितान्त व्यक्तिगत भएको र कारबाही गर्ने आधार नभएको बताए। उपेन्द्रलाई कारबाही गर्छु भन्ने अधिकार महतोलाई नभएको उनले प्रष्ट पारे। ‘उपेन्द्र यादवलाई कारबाही गर्छु भन्ने अधिकार महतोजीलाई कसैले दिएको छैन। के केन्द्रीय समिति बैठकले यस्तो अधिकार दिएको हो ?’ रामसहायले प्रश्न गरे।

जसपा ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र बहुमतमा छन्। कार्यकारिणी समितिका बहुमत सदस्य आफूतीर भएको प्रमाणित यादव पक्षले यसअघि नै गरीसकेको छ। तत्कालीन राजपा र समाजवादीबीच एकीकरण भई जसपा गठन भएपछि निर्वाचन आयोगमा पठाइएको सूचीमा ५१ सदस्यीय कार्यकारिणी समिति र २ जना अध्यक्षको व्यवस्था गरिएको उल्लेख छ।

प्रकाशित: २९ वैशाख २०७८ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App