१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि पदबाट राजीनामा दिएको बताएका छन्। राजीनामासँगै एक वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलका कारण काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको बताएका हुन्।

मुख्यमन्त्री गुरुङले हिजोसम्म सहकार्य गरेका र एउटै घोषणा पत्रमार्फत निर्वाचनमा गएका दलहरुबाटसमेत असहयोग गर्दा काम गर्ने वातावरण नबनेको उल्लेख गरेका छन्। उनले एउटै मोर्चाबाट चुनाव लड्ने, सरकारमा बस्ने र अहिले बञ्चरो प्रहार गर्ने काम गरेको बताउँदै अगाडि भनेका छन्, 'एउटै चुनावी मोर्चाबाट लड्ने, एउटै घोषणापत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रवृति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानी पुर्‍याउने प्रवृति हो। हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ।’

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र एमालेलाई सरकार सञ्चालन गर्ने म्याण्डेट दिएपनि कांग्रेसले जनमत अनुसार व्यवहार नगरेको गुनासो गरेका छन्। त्यस्तालाई जनताले दण्डित गर्ने भन्दै उनले भनेका छन्, 'तर पनि हाम्रो पार्टी नेकपा एमाले र हामी फल दिइरहने वृक्ष हौं, शीतलता पनि दिएका छौ र दिइरहने छौ तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्। लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ।’

प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आह्वान

प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन्। साथै नयाँ सरकार गठन नभएसम्मका लागि वर्तमान सरकारलाई नै नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम कामचलाउका रुपमा काम गर्न आग्रह गरेकी छन्।

प्रकाशित: २६ वैशाख २०७८ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App