१६ चैत्र २०८० शुक्रबार
राजनीति

उपेन्द्रसँग नजिकिए महतोः जसपामा ओलीविरोधी लाइन बहुमतमा

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।

महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् । उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन् । जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् ।

पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन् । यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए ।

महतो निकट एक नेताका अनुसार ओली सरकारलाई विश्वासको मत दिन कि नदिने भन्ने विषयमा मतदान हुँदा तटस्थ बस्नुपर्ने लाइनमा महतो छन् । पार्टी फुट्नबाट जोगाउन तटस्थ बस्नुपर्ने महतोको धारणा रहेको ती नेताको भनाइ छ । ओली सरकारले जसपाका सबै माग पूरा नगरेकाले सरकारलाई साथ दिनै पर्ने बाध्यता नभएको महतो पक्षधर नेताहरूको भनाइ छ । ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउन पहल नगरेपछि उनी टाढिएको महतो पक्षधर नेताहरूको भनाइ छ । 

पूर्व राजपा र पूर्व समाजवादीबीच एकीकरण हुँदा महतोलाई संसदीय दलको नेता बनाउने मौखिक सहमति भएको उनीहरूको दाबी छ । तर अहिले महतोलाई दलको नेता बनाउन ठाकुरले चासो नदिएको, बरु उल्टै आफैं दलको नेता हुन चाहेको महतो पक्षधर नेताहरूको भनाइ छ । सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूका हस्ताक्षर दुरुपयोग गरी ठाकुरले आफूलाई अधिकार थप्न खोजेको आशंका महतो निकट अर्का एक नेताले गरे । उनले भने, ‘ठाकुरजीले आफ्ना सम्धी उमाकान्त झालाई सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन खोजेको हामीले संकेत पायौं ।’ यसअघि ठाकुरको सिफारिसमा झालाई प्रदेश ५ को प्रदेश प्रमुख बनाइएको थियो । 

जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार र रेसम चौधरी निलम्वित अवस्थामा छन् । बाँकी ३२ सांसदमा १६ जना पूर्व राजपा र १६ जना पूर्व समाजवादीका हुन् । पूर्व राजपाका सांसद महेन्द्र यादव सरकार ढाल्नुपर्ने लाइनमा उभिएका छन । महतो, भण्डारी र राउत तटस्थ बस्ने सम्भावना रहेको जसपा स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘यो दुई दिनमा परिस्थिति फेरिएर ओलीलाई श्विासको मत नदिने लाइनमा ३ सांसद उभिन सक्छन् ।’ जसपा कार्यकारिणी समिति सदस्य रमेश यादवले ओली सरकार ढाल्नुपर्छ भन्ने लाइनमा पार्टीका बहमुत सांसद र कार्यकारिणी समितिका बहुमत सदस्य रहेको बताए ।

प्रकाशित: २५ वैशाख २०७८ ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App